१६ माघ, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका एक कैदीले संगठित समूह बनाएर काठमाडौं उपत्यकामा लुटपाटको आतंक मच्चाएको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले ९ घन्टा लामो अपरेसन चलाएर १० जनालाई पक्राउ गरेपछि उक्त समूहको मुख्य नाइके नै हिरासतबाट फरार व्यक्ति भएको खुलेको हो ।
डाँका चोरी मुद्दामा पक्राउ परी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका काभ्रे भुम्लु गाउँपालिका–३ का २३ वर्षीय विनय तामाङ जेनजी आन्दोलनको मौका छोपी फरार भएका थिए । फरार भएपछि उनी केवल लुकिछिपी बसेनन्, बरु १० जनाको संगठित समूह खडा गरी उपत्यकाका विभिन्न स्थानमा शृंखलाबद्ध लुटपाटमा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार विनय नै यस समूहका मुख्य योजनाकार हुन् । “जेनजी आन्दोलनको मौका छोपी हिरासतबाट फरार भएका विनयकै नेतृत्वमा समूह बनाएर लुटपाट गरिएको देखिन्छ,” एसएसपी थापाले बताए ।
प्रहरीका अनुसार यो समूहले रातिको समयमा सडकमा हिँडडुल गर्ने सर्वसाधारणलाई निशाना बनाउँदै सुनका गरगहना, नगद र मोबाइल लुट्ने गरेको थियो । स्वयम्भू, बौद्धलगायत उपत्यकाका विभिन्न क्षेत्रमा २७ पटकसम्म लुटपाट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ, जसको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ ।
लगातार उजुरी आएपछि प्रहरीले सीसी क्यामेरा फुटेज विश्लेषण गर्दा एउटा मोटरसाइकलमा तीन जना सवार भई लुटपाट गर्ने शैली पत्ता लगाएको थियो । त्यसपछि बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहान ३ बजेसम्म विशेष अपरेसन चलाएर १० जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विनय तामाङसहित सिन्धुली, काभ्रे, रामेछाप, मोरङ, खोटाङ र सिन्धुपाल्चोकका विभिन्न स्थानका व्यक्तिहरू छन् । अधिकांश पक्राउ परेका व्यक्ति पहिले पनि डाँका चोरी, चोरी, लागुऔषधजस्ता मुद्दामा संलग्न भइसकेका ‘पटके अभियुक्त’ रहेको सीआरएस प्रणालीले देखाएको छ ।
प्रहरीका अनुसार मुलपानी क्रिकेट मैदान नजिकै चेकिङका क्रममा विनयले प्रहरीलाई पेल्दै अघि बढ्न खोजे पछि स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीमाथि धक्कामुक्की भएपछि जवाफी कारबाही गर्दा विनयको खुट्टामा गोली लागेको र हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
अनुसन्धानमा यो समूहले दिउँसो कार र ट्याक्सी प्रयोग गरी रेकी गर्ने र राति मोटरसाइकलमा लुटपाट गर्ने गरेको खुलेको छ । प्रहरीले एउटा कार, एउटा ट्याक्सी र लुटपाटमा प्रयोग भएका ६ थान पल्सर मोटरसाइकल बरामद गरेको छ। नम्बर प्लेट नचिनियोस् भनेर मोटरसाइकलमा हिलो छ्याप्ने र चेकिङ परे ‘हिलो लाग्यो’ भन्ने बहाना बनाउने गरेको पनि खुलेको छ ।
लुटपाटका क्रममा खुकुरीसमेत प्रयोग गरिएको र सो खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केहीले लुटिएको गहना किनबेच गर्ने र केहीले मोटरसाइकल चलाउने तथा पीडितलाई नियन्त्रणमा लिने भूमिका निभाउने गरेको खुलेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ ।
















