१६ माघ, काठमाडौं । शहीद दिवसको ऐतिहासिक अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीले देशको परिवर्तनका लागि जीवन आहुति दिने वीर योद्धाहरूप्रति उच्च सम्मान प्रकट गरेकी छन् ।
प्रधानमन्त्रीले शहीदहरूको अद्वितीय साहस, चेतना र दृढ संकल्पकै कारण आज नेपाल एउटा ऐतिहासिक राजनीतिक मोडमा आइपुगेको स्मरण गर्दै अबका दिनमा देशमा फेरि कुनै पनि आमाको काख रित्तिन नपरोस् भन्ने कामना गरेकी छन् । लोकतन्त्र र नागरिक स्वतन्त्रताका लागि भएको लामो संघर्षमा आफ्नो अमूल्य जीवन अर्पण गर्ने ज्ञात(अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शान्तिपूर्ण भविष्यको खाका प्रस्तुत गरेकी छन् ।
विशेष गरी पछिल्लो समय न्याय, समानता र उत्तरदायी शासनको माग गर्दै सडकमा उत्रिएको जेनजी पुस्ताको आन्दोलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त अभियानमा सहादत प्राप्त गर्ने युवा योद्धाहरूलाई विशेष नमन गरेकी छन् । उज्यालो भविष्यको आशा बोकेर परिवर्तनको लहरमा होमिएका युवाहरूको बलिदानले राज्यलाई थप जिम्मेवार बन्न प्रेरित गरेको उनको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री कार्कीले नागरिकको अधिकार र भावनालाई कदर गर्दै नयाँ पुस्ताको चाहना बमोजिमको न्यायपूर्ण समाज निर्माण गर्नु नै शहीदप्रतिको सच्चा सम्मान हुने धारणा राखेकी छन् ।
शासकीय मूल्य र नैतिकताको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले राज्य सञ्चालकहरूले नागरिकको सम्मानलाई सदैव केन्द्रमा राख्नुपर्नेमा जोड दिएकी छन् । प्रत्येक शासकको मनमा शहीदको बलिदान र जनताको आकांक्षाको स्मरण भइरहनुपर्ने उल्लेख गर्दै उनले अबको राज्य निर्माणको आधार नै नैतिकता र उत्तरदायी शासन हुनुपर्ने बताएकी छन् । हिंसा र अस्थिरताको अन्त्य गरी विकास र समृद्धिको बाटोमा अघि बढ्नु नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको सन्देश दिँदै उनले निर्वाचनका समयमा समेत मानवीय क्षति हुन नदिन सरकार प्रतिबद्ध रहेको संकेत गरेकी छन् ।
















