१६ माघ, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले शहिदहरूको बलिदानकै कारण नेपाल आजसम्म स्वतन्त्र र सार्वभौम मुलुकका रूपमा रहन सफल भएको बताएका छन्।
शहिद दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले देशमा राजनीतिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा ज्यान आहुति दिने सम्पूर्ण शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
उनले सन्देशमा लेखेका छन्, “देश, लोकतन्त्र र जनअधिकारका लागि आफ्नो अमूल्य जीवन अर्पण गरेका सम्पूर्ण शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।”
पर्सा–१ का निवर्तमान सांसदसमेत रहेका यादवले शहिदहरूले देखेको सपना साकार पार्नु सबै नेपालीको साझा दायित्व भएको उल्लेख गरेका छन्। शहिदहरूको बलिदानकै कारण आज प्रत्येक नेपालीले आफूलाई सार्वभौम नागरिकका रूपमा गर्व गर्न पाएको उनको भनाइ छ।
राणा शासन, पञ्चायती शासन, पहिलो तथा दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र हालै सम्पन्न जेन्जी आन्दोलनमा शहादत प्राप्त गर्ने सबै शहिदहरूको योगदान स्मरण गर्दै उनले शहिद दिवसका अवसरमा नमन व्यक्त गरेका छन्। साथै, शहिदहरूले देखाएको मार्गमा सदैव हिँड्ने प्रतिबद्धता समेत उनले जनाएका छन्।
















