Logo

१६ माघ, वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातिएको छ। मधेस प्रदेशको राजनीतिक दृष्टिले संवेदनशील मानिने पर्सा जिल्लाको क्षेत्र नम्बर–१ पनि यसबाट अछुतो छैन। बरु, यस निर्वाचन क्षेत्रमा यसपटकको चुनावलाई लिएर अझै बढी चासो र विश्लेषण सुरु भएका छन्। कारण एउटै छ—लगातार दुई पटक चुनाव जितिसकेका प्रदीप यादव र उनको पार्टी परिवर्तन।

पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका प्रदीप यादव पर्सा–१ मा लगातार तेस्रो पटक प्रतिनिधि सभा सदस्य बन्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्। २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी यादव यसपटक भने फरक पार्टीबाट उम्मेदवार बनेका छन्। यसअघि जनता समाजवादी पार्टी (जसपा) बाट दुई पटक चुनाव जितेका यादव अहिले नेकपा एमालेबाट उम्मेदवार बनेका हुन्।

लगातार जितेका यादव, तर पार्टी बदलिएपछि समीकरण फेरियो

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा यादवले २१ हजार १३२ मत प्राप्त गर्दै विजयी भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगाटालाई ४ हजार ६५१ मत अन्तरले पराजित गरेका थिए। उक्त निर्वाचनमा रुंगाटाले १६ हजार ४८१ मत ल्याएका थिए भने नेकपा एमालेका विचारी प्रसाद यादवले ५ हजार ४१८ र नेकपा (माले) का जितेन्द्र कुमार सिंहले ६०८ मत प्राप्त गरेका थिए।

त्यसैगरी, २०७९ सालको निर्वाचनमा पनि यादवले आफ्नो जित दोहोर्‍याए। उनले २२ हजार ५३७ मत प्राप्त गर्दै स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीलाई १ हजार ६२० मत अन्तरले पराजित गरेका थिए। द्विवेदीले २० हजार ९१७ मत ल्याएका थिए। उक्त निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका किरणमान डंगोलले २ हजार ६५९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लक्ष्मणलाल कर्णले १ हजार ११७ मत ल्याएका थिए।

२०७९ को निर्वाचन जितेपछि जसपाकै सचिव रहेका यादव २०८१ वैशाखमा स्वास्थ्य मन्त्रीसमेत बनेका थिए। तर, राजनीतिक समीकरण परिवर्तनसँगै उनले जसपा छाडेर नेकपा एमाले रोजेपछि पर्सा–१ को चुनावी गणित थप चासोको विषय बनेको छ।

पर्सा–१ मा ३० भन्दा बढी उम्मेदवार, पुराना र नयाँ अनुहारको भिडन्त

यसपटक पर्सा क्षेत्र नम्बर–१ मा कुल ३० जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये १८ जना विभिन्न राजनीतिक दलबाट र १२ जना स्वतन्त्र उम्मेदवार छन्।

नेकपा एमालेबाट प्रदीप यादव, नेपाली कांग्रेसबाट अनिल कुमार रुंगाटा, नेकपाबाट अजय चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धि प्रसाद पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नन्द किशोर प्रसाद श्रीवास्तव, जनता समाजवादी पार्टी नेपालबाट रामनरेश प्रसाद यादव, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ, नेपाल मजदुर किसान पार्टीबाट प्रमोद प्रसाद पटेल, नेपाल लोकतान्त्रिक पार्टीबाट शालिकराम प्रसाद कानु, नेपाल जनता पार्टीबाट सुरेश प्रसाद साह कानुले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, नेकपा (संयुक्त) बाट शंकर कुमार कर्ण, श्रम संस्कृति पार्टीबाट वसिम शेष, उज्यालो नेपाल पार्टीबाट रामकिशोर सिंह, नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट सोएब अन्सारी, राष्ट्र निर्माण दल नेपालबाट मोहम्मदर उमर खान, आम जनता पार्टीबाट विश्वराज पटेल, पिपुल फर्स्ट पार्टीबाट जाबेद एकबाल हैदर, जन अधिकार पार्टीबाट महेश कुमार पासवान उम्मेदवार बनेका छन्।

स्वतन्त्र उम्मेदवारका रूपमा अनिल प्रसाद यादव, अभिनाश चौरसिया, आर्यशशिकला राउत, दीप कुमार बर्मा, नरेश कुमार यादव, प्रेम मेहता, पुकार थापा, म. साजिद अली, विशाल कुमार पाण्डेय, विशाल कुमार, शिव प्रसाद कोइरी र सरोज प्रसाद यादव मैदानमा छन्।

विगतको मत परिणाम : जसपाको प्रभाव बलियो

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ मा समानुपातिक तर्फ जनता समाजवादी पार्टी ११ हजार १५४ मतसहित पहिलो पार्टी बनेको थियो। नेपाली कांग्रेस ९ हजार ४६३ मतसहित दोस्रो र ८ हजार ३१४ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा थियो।

नेकपा एमालेले ६ हजार ३१५, नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी (हँसिया हथौडा) ले ५ हजार ६९३ र राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार १२७ मत प्राप्त गरेको थियो।

पर्सा–१ अन्तर्गत वीरगञ्ज महानगरपालिकाका वडा नम्बर २, ४, ५, ७, ८, ११ देखि १६, १८, २० देखि २३ र ३० देखि ३२ पर्दछन्। यी क्षेत्रहरूमा प्रतिनिधि सभा मात्र होइन, स्थानीय तहको निर्वाचनमा पनि जसपाकै प्रभाव देखिएको छ।

स्थानीय तहको परिणाम पनि निर्णायक ?

स्थानीय तह निर्वाचन २०७९ मा वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जसपा नेपालका उम्मेदवार राजेशमान सिंह ४६ हजार २१५ मतसहित विजयी भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई २२ हजार ५४४ मत अन्तरले पराजित गरेका थिए। उपप्रमुखमा भने नेपाली कांग्रेसका इम्तियाज आलम ३० हजार ७८ मतसहित विजयी भएका थिए।

वीरगञ्ज महानगरपालिकाका कुल ३२ वडामध्ये १९ वडा पर्सा–१ अन्तर्गत पर्छन्। ती १९ वडामध्ये जसपाले ८, नेपाली कांग्रेस र एमालेले समान ५–५ तथा लोकतान्त्रिक समाजवादी पार्टीले १ वडा जितेको थियो।

२०७४ र २०७९ सालमा प्रदीप यादवले जसपाबाट चुनाव जिते। यसपटक भने उनी एमालेको टिकट लिएर मैदानमा छन्। विगतका नतिजा हेर्दा पर्सा–१ मा जसपाको संगठन बलियो देखिए पनि यादवको व्यक्तिगत प्रभाव पनि कमजोर छैन।

त्यसैले यो निर्वाचनमा पार्टी भारी पर्छ कि व्यक्ति ? वा जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक चेतनाले नयाँ अनुहारलाई अवसर दिन्छ ? यसको उत्तर फागुन २१ गतेको मत परिणामपछि मात्रै स्पष्ट हुनेछ।


सम्बन्धित समाचार