१६ माघ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–५ दरबार टोलस्थित हिमानी पार्टी प्यालेसमा आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, वीरगञ्जस्थित नवीन बैंक बिरगंज शाखामा मार्केटरका रूपमा कार्यरत ३५ वर्षीय शैलेन्द्र ठाकुर पार्टी प्यालेसको कोठा नम्बर–६ को बेडमुनि अचेत अवस्थामा भेटिएका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच गर्दा उनको मृत्यु भइसकेको पुष्टि गरेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो।
प्रहरीका अनुसार मृतक ठाकुर सप्तरी जिल्लाका मूल निवासी हुन् र हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–प्रगति नगरमा बसोबास गर्दै आएका थिए। सोही कोठामा जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत कार्यालय सहयोगी राजेश नेपाल पनि उपस्थित रहेको प्रहरी जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जनाले राति कोठाभित्र नाकमार्फत ‘खैरो जस्तो देखिने पदार्थ’ सेवन गरेको खुलेको छ। प्रहरीका अनुसार, त्यसको ओभरडोजका कारण ठाकुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ। प्रहरी अनुसन्धान जारी रहेको छ।
















