Logo

१६ माघ, काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि गरेको आन्तरिक विश्लेषणले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरिदिएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव जहाँबाट सुरु भएको थियो, ती सहरी क्षेत्रहरूमा अहिले उल्लेख्य रूपमा ह्रास आएको छ ।

प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा पोखरेलले काठमाडौँ जस्ता सहरी क्षेत्रहरूमा रास्वपा अहिले प्रतिस्पर्धाको मुख्य घेराभन्दा बाहिर रहेको रोचक दाबी गरे । यद्यपि, सहरमा प्रभाव घटे पनि ग्रामीण भेगमा भने रास्वपाको उपस्थिति अघिल्लो निर्वाचनको तुलनामा केही विस्तार भएको एमालेको निष्कर्ष छ । तर, गाउँमा प्रभाव बढे पनि त्यो जित निकाल्ने तहसम्म नपुगेको एमाले नेतृत्वको ठम्याइ छ ।

चुनावी रणनीतिका बारेमा थप स्पष्ट पार्दै महासचिव पोखरेलले एमालेको मुख्य र वास्तविक प्रतिस्पर्धा फेरि पनि पुरानो दल नेपाली कांग्रेससँगै हुने बताएका छन् । कांग्रेस अहिले चर्चामा कम देखिए पनि र प्रचार शैली सुस्त भए पनि उसलाई ‘साइलेन्स’ शक्तिका रूपमा हेर्नुपर्ने र कमजोर ठान्न नहुने उनको तर्क छ। नयाँ शक्तिहरूले सामाजिक सञ्जालमा बनाइरहेको माहोललाई संकेत गर्दै पोखरेलले संगठनको आधार र इतिहास बोकेको कांग्रेस नै एमालेको मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा उभिने विश्लेषण सुनाए ।

यसैबीच, रास्वपाका नेता बालेन्द्र शाहको देश दौडाहा र त्यहाँ देखिएको भीडलाई लिएर पोखरेलले टिप्पणी गरेका छन् । उनले कुनै पनि नयाँ व्यक्तिलाई हेर्न लाग्ने भीड नै निर्वाचनको निर्णायक मत नभएको भन्दै डेढ लाख मतदाता भएको क्षेत्रमा केही हजारको उपस्थितिले मात्रै नतिजा बदल्न नसक्ने बताए । पहिलो पटक नयाँ मानिस हेर्ने कौतुहलताले भीड जुटे पनि दोस्रो पटक जाँदा त्यो आकर्षण कायम नरहने उनको दाबी छ । समग्रमा, एमालेले यस पटकको निर्वाचनमा सहरी मतदाताहरू फेरि पनि स्थापित दलहरूकै पक्षमा फर्किने र मुख्य भिडन्त एमाले र कांग्रेसबीच नै हुने रणनीतिक आकलन गरेको छ ।


सम्बन्धित समाचार