१६ माघ, वीरगञ्ज । मधेस प्रदेशमा बेपत्ता हुने व्यक्तिको सङ्ख्या बढ्दै गएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता कमल थापाले अन्तिम ६ महिनामा प्रदेशभर २ हजार ५७२ जना सम्पर्कविहीन रहेको तथ्य सार्वजनिक गरेका छन्।
जसमा पुस महिनामा मात्र १ हजार ४४८ जना सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीनमध्ये ६ महिनाको अवधिमा १ हजार ५०१ जना फेला परेका छन् भने बाँकी अझै सम्पर्कविहीन रहेको प्रवक्ता थापाले जानकारी दिए।
त्यस्तै, जेन्जी आन्दोलनमा भएका क्षति र घटनाहरूको विवरणसमेत सार्वजनिक गरिएको छ। मधेस प्रदेशमा सो आन्दोलनको क्रममा जम्मा चारजनाको मृत्यु भएको थियो। आन्दोलनका क्रममा प्रदेशभरका कुल २३४ सरकारी कार्यालयमा क्षति पुगेको र त्यसको कुल मूल्य ५७ करोड ३५ लाख ५२ हजार १२५ रुपैयाँ बराबर रहेको जनाइएको छ।
प्रवक्ता थापाका अनुसार आन्दोलनका क्रममा प्रदेशका प्रहरीका सवारी साधनहरूमा पनि क्षति पुगेको थियो। कुल २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको प्रहरी सवारी साधनमा क्षति भएको विवरण उनले दिएका छन्।
जेन्जी आन्दोलनका क्रममा मधेस प्रदेशका विभिन्न कारागारहरूबाट १,०४५ जना कैदी फरार भएका थिए। तीमध्ये ५७९ जनालाई पक्राउ गरिएको छ भने बाँकी अझै फरार अवस्थामा रहेका छन्। त्यस्तै, बाल सुधार गृहबाट ६८ जना बालक फरार भएका थिए, जसमध्ये २० जना पक्राउ परेका छन् र ४८ जना अझै फरार रहेको प्रवक्ता थापाले जानकारी दिए।
प्रवक्ता थापाले प्रदेशका प्रहरी तथा प्रशासनले बेपत्ता व्यक्ति खोजी, क्षति मूल्याङ्कन र फरार कैदी खोजीका लागि लगातार प्रयास जारी राखेको बताए।
















