Logo

१६ माघ, काठमाडौं । नेपाल सरकारले सुरक्षाकर्मीको मनोबल उच्च बनाउने उद्देश्यका साथ आगामी फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केलमा महत्त्वपूर्ण वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले करिब ८० हजार प्रहरी कर्मचारी लाभान्वित हुने गरी सरदर १० प्रतिशतले रासन रकम बढाउने निर्णय गरेको हो । यस निर्णयसँगै लामो समयदेखि नेपाली सेना र सशस्त्र प्रहरीको तुलनामा रासनमा हुँदै आएको विभेद समेत अन्त्य भएको छ। अब प्रहरीको दैनिक रासनमा पहिलो पटक अण्डा, मासु (२५ ग्राम) र हाई इनर्जी बिस्कुट समावेश गरी कूल १९ प्रकारका सामग्री उपलब्ध गराइनेछ ।

रासनको दररेट भौगोलिक अवस्थिति अनुसार फरक–फरक कायम गरिएको छ, जसअनुसार काठमाडौँमा कार्यरत प्रहरीले अब दैनिक २२१ रुपैयाँ ९२ पैसा पाउनेछन् भने सबैभन्दा दुर्गम हुम्लाको उत्तरी भेगमा यो रकम दैनिक ९५२ रुपैयाँ ३६ पैसा पुग्नेछ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदभार ग्रहण गरेदेखि नै उठाउँदै आएको यो माग सम्बोधन भएसँगै कार्यक्षेत्रमा खटिने प्रहरीहरूको आधारभूत पोषण र मनोबलमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।


सम्बन्धित समाचार