१६ माघ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकमा ठूला राजनीतिक परिवर्तन भएर व्यवस्था फेरिए पनि आम जनताको जीवनस्तर र अवस्थामा अपेक्षाकृत सुधार आउन नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सहिद दिवसको अवसरमा शुक्रबार हेटौँडामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अबको मुख्य कार्यभार नागरिकको अवस्था बदल्नु रहेको र त्यसका लागि सबै राजनीतिक शक्तिहरू एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए । सहिदको रगत र बलिदानबाट प्राप्त भएको समावेशी लोकतान्त्रिक गणतन्त्रमाथि पछिल्लो समय विविध चुनौती र खतराहरू मडारिन थालेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले प्राप्त उपलब्धिको रक्षाका लागि हरेक नेपाली सचेत र जागरुक हुनुपर्नेमा जोड दिए ।
आफ्नो सम्बोधनका क्रममा मुख्यमन्त्री बानियाँले पटक–पटकको आन्दोलनले राजनीतिक अधिकार सुनिश्चित गरे पनि आर्थिक र सामाजिक न्यायको पाटो अझै ओझेलमा परेको स्वीकार गरे । अबको समयमा नेपाली नागरिक सहिद बनिरहनुपर्ने पीडादायी अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै उनले राजनीतिक दलहरूले व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर जनताप्रति इमानदारिता प्रदर्शन गर्नुपर्ने बताएका छन् । सहिदहरूको वास्तविक सपना पूरा गर्न सुशासनको प्रत्याभूति र आर्थिक विकास नै एकमात्र विकल्प भएको उनको ठहर छ ।
नेपाललाई समृद्ध बनाउने साझा राष्ट्रिय लक्ष्यमा सबै राजनीतिक दलहरूबीच न्यूनतम सहमति र सहकार्य हुनुपर्ने धारणा राख्दै उनले बागमती प्रदेश सरकार सुशासन र जनमुखी विकासमा केन्द्रित रहने प्रतिबद्धता समेत दोहोर्याए । लोकतन्त्रको जरा बलियो बनाउन र व्यवस्थाप्रति जनताको भरोसा जगाउनका लागि आर्थिक समृद्धिको फल गाउँ(गाउँसम्म पुग्नुपर्नेमा उनले विशेष जोड दिए ।
















