Logo

१७ माघ, काठमाडौँ । बहुप्रतिक्षित तराईमधेश द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणले उल्लेखनीय गति लिएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको यस आयोजनाको समष्टिगत भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.३३ प्रतिशत नाघेको छ।

आयोजना अन्तर्गत महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा निर्माण गरिने सातमध्ये पाँचवटा सुरुङ हाल निर्माणाधीन छन् । नेपाली सेना सडक निर्माण आयोजना कार्यदलका अनुसार मकवानपुरको धेद्रे र लेनडाँडामा दुईतर्फी गरी चारवटा सुरुङको ‘ब्रेक-थ्रु’ सम्पन्न भइसकेको छ, जसलाई आयोजनाको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी मिलन कार्कीका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म थप दुई जोडी सुरुङ ब्रेक–थ्रु गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ। निर्माणाधीन सबै सुरुङको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको छ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्व-पश्चिम राजमार्गमा जोडिने ७०.९७७ किलोमिटर लामो द्रुतमार्ग पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर चौडाइको हुनेछ । आयोजना अन्तर्गत ललितपुरमा ९ किलोमिटर, काठमाडौंमा ४.६ किलोमिटर, मकवानपुरमा ४९.७ किलोमिटर र बारामा ७.६ किलोमिटर सडक निर्माण हुने छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार द्रुतमार्गमा साना तथा ठूला गरी जम्मा ८९ वटा पुल निर्माण गरिनेछ। हालसम्म ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिका १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेका छन् । बाँकी ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई निर्माण कार्य विभिन्न चरणमा अघि बढिरहेको उनले जानकारी दिए ।

देशको यातायात प्रणालीमा ऐतिहासिक परिवर्तन ल्याउने अपेक्षा गरिएको फाष्ट ट्र्याक सम्पन्न भएपछि काठमाडौं–तराई यात्रा समय उल्लेखनीय रूपमा घट्नेछ । निर्माणले तीव्रता लिँदै जाँदा द्रुतमार्ग अब योजनाबाट वास्तविकतामा रूपान्तरण हुँदै गएको संकेत देखिन थालेको छ।


सम्बन्धित समाचार