१७ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरमा चोरीको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घरको मुख्य गेटमा तोडफोड भएको देखिएपछि प्रहरीले घटनाबारे छानबिन सुरु गरेको हो। प्रहरीका अनुसार शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको आशंका गरिएको छ।
घटनाको समयमा बालेन घरमा नभएको र उनी आज मात्रै कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेको बताइएको छ। यसअघि उनी सुदूरपश्चिम प्रदेशमा रहेका थिए।
प्रहरीले गेट तोडफोड गरिएको आधारमा चोरीको प्रयास भएको हुनसक्ने अनुमान गरेको छ। घरभित्र को–को थिए, कुनै सामान चोरी भयो वा भएन भन्ने विषयमा बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ।
घटनासम्बन्धी थप विवरण संकलन गर्दै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।















