१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने बताएका छन्।
काठमाडौं–४ मा शनिबार आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार ‘प्राइमरी इलेक्सन’ मार्फत वडास्तरबाटै छनोट गरिने जानकारी दिए।
उनले भने,
“अब नयाँ स्थानीय चुनावभन्दा र नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ। नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीभित्र यी सबै विषय टुंग्याउँछ, चुनावका उम्मेदवारको टिकट प्राइमरीबाट वडाका साथीहरूले छान्नुहुन्छ।”
सभापति थापाले अब कांग्रेसमा उम्मेदवारको टिकट पाउन पार्टी सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था नहुने स्पष्ट पारे।
“अब कसैले पनि पार्टी सभापतिको घर धाउनु पर्दैन, कसैले पनि पार्टी महामन्त्रीको घर धाउनु पर्दैन,” उनले भने।
कांग्रेसभित्र गुटबन्दी तथा ६०–४० को भागबण्डाको अन्त्य भइसकेको दाबी गर्दै थापाले पार्टीभित्र र बाहिर दुवैतर्फ भागबण्डा नगर्ने नीति लिइएको बताए।
“यो पार्टीमा अब कुनै गुट छैन। हिजोको जस्तो ६०–४० पनि सकियो। कांग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन,” उनले भने।
नागरिक र पार्टी सदस्यलाई बलियो बनाउने अभियान पार्टीभित्र सुरु भइसकेको उल्लेख गर्दै सभापति थापाले पार्टी नेतृत्वमा पारदर्शिता र स्वच्छ अभ्यास सुनिश्चित गरिनेमा जोड दिए।
“यो बदलिएको कांग्रेस हो। यहाँ पार्टी सभापतिको अँध्यारो कोठामा कोहीसँग पनि अप्राकृतिक सम्बन्ध हुँदैन,” उनले स्पष्ट पारे।
सभापति थापाको अभिव्यक्तिले कांग्रेसभित्र संगठनात्मक सुधार, आन्तरिक लोकतन्त्र र उम्मेदवार छनोट प्रक्रियामा ठूलो परिवर्तनको संकेत दिएको छ।
















