Logo

१७ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–४ विर्तास्थित कृष्णा हस्पिटल प्रालिमा उपचाररत एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्लाको महागढीमाई नगरपालिका–८ बेतावनाका चन्देश्वर माझीका २० वर्षीय छोरा हरेन्द्र माझी रहेका छन्।

तीन दिनदेखि उक्त अस्पतालमा उपचाररत माझीको अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। यद्यपि मृतकका परिवारजनले उपचारमा चिकित्सक तथा अस्पताल पक्षबाट गम्भीर लापरबाही भएको आरोप लगाएका छन्।

मृतककी आमा अनिता देवीले छोराको मृत्यु शङ्कास्पद रहेको बताउँदै घटनाको सत्यतथ्य छानबिनको माग गरेकी छन्। उनका अनुसार आज बिहान करिब ९ बजे छोरोले खाना खान इशारा गरेपछि केही समयमै चिकित्सकले मृत्युको खबर सुनाएका थिए।

“छोरो सामान्यजस्तै देखिन्थ्यो, अचानक मृत्युको खबर सुन्दा हामी स्तब्ध भयौँ,” उनले भनिन्। घटनाले सम्पूर्ण माझी परिवार शोकमा डुबेको पनि उनले बताइन्।

मृतक हरेन्द्र माझी पछिल्लो एक महिनादेखि क्षयरोग (टिबी) बाट पीडित थिए। उनी सरकारी अस्पतालबाट टिबीको औषधि सेवन गर्दै आएका थिए। अत्यधिक खोकी र स्वास्थ्य जटिल बन्दै गएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज ल्याएर कृष्णा अस्पतालमा भर्ना गरिएको थियो।

परिवारजनका अनुसार बिरामीको अवस्था गम्भीर बन्दै जाँदा नजिकै रहेको नारायणी अस्पतालमा रेफर गर्नुको साटो निजी अस्पतालमै उपचार जारी राखिनु नै लापरबाही हो। साथै उपचार खर्च र मृत्युको वास्तविक कारणबारे अस्पताल पक्षले स्पष्ट जानकारी नदिएको उनीहरूको आरोप छ।

यस विषयमा अस्पताल व्यवस्थापन पक्षले भने सबै आरोप अस्वीकार गरेको छ। अस्पतालको इमर्जेन्सी वार्डका मेडिकल अफिसर डा. सुदिप गुप्ताले उपचारमा कुनै पनि लापरबाही नभएको दाबी गरेका छन्। उनका अनुसार बिरामी भर्ना हुँदाकै अवस्था गम्भीर थियो र चिकित्सक टोलीले शतप्रतिशत प्रयास गरे पनि ज्यान जोगाउन नसकिएको हो।

“हामीले गर्न सक्ने सम्पूर्ण प्रयास गरेका थियौँ, तर बिरामीको अवस्था अत्यन्तै जटिल थियो,” डा. गुप्ताले भने।

घटनापछि स्थानीय तह र सरोकारवाला निकायबाट निष्पक्ष छानबिनको माग बढ्दै गएको छ।


सम्बन्धित समाचार