Logo

 १७ माघ,काठमाडौं । पछिल्लो एक सातादेखि भारतबाट नेपालमा एलपी ग्यासको आपूर्ति प्रभावित हुँदा उपभोक्ताले अभाव झेल्नु परेको छ। प्रमुख ग्यास आपूर्तिकर्ता भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी)को बरौनी रिफाइनरी मर्मतको कारण नेपालमा कोटाअनुसार ग्यास लोड हुन नसकेको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार नेपाल मुख्य रूपमा बरौनी, मथुरा, पारादीप र दुर्गापुर रिफाइनरीबाट ग्यास आयात गर्दै आएको छ। तीमध्ये मथुरा रिफाइनरीबाट नियमित रूपमा आपूर्ति भइरहेको भए पनि पुरानो प्लान्ट भएको बरौनी रिफाइनरीमा बारम्बार मर्मत आवश्यक पर्ने हुँदा बीच–बीचमा दुई–चार दिनसम्म ग्यास लोड रोकिनुपर्ने स्थिति आएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले पनि अहिले बरौनीबाट सीमित मात्रामात्रै ग्यास आएको स्वीकार गर्दै भने, “पारादीप र दुर्गापुर जस्ता रिफाइनरीबाट पनि अपेक्षाभन्दा कम आपूर्ति भइरहेको छ। भारतमा जाडो महिनामा ग्यासको खपत बढ्ने भएकाले आईओसीले पहिलो आफ्नै आन्तरिक माग पूरा गरेको छ।”

जाडो महिनामा विशेषगरी काठमाडौं उपत्यकामा ग्यासको खपत सामान्य समयको तुलनामा २०–२५ प्रतिशतसम्म बढ्ने गर्दछ। नेपालमा मासिक करिब ४७–४८ हजार मेट्रिक टन ग्यास आवश्यक पर्छ भने चालु महिनामा आयात ४२–४३ हजार मेट्रिक टनमा सीमित हुने अनुमान गरिएको छ। यसरी चार–पाँच हजार मेट्रिक टन ग्यास कम आयात हुँदा बजारमा आपूर्ति अभाव देखिएको चन्दले जानकारी दिए।

बरौनीबाट ग्यास नपाउँदा पारादीप (ओडिसा) जस्ता टाढाका रिफाइनरीसम्म ग्यास ढुवानी गर्नुपर्ने हुनुले गाडी अभाव पनि समस्या भएको छ। गाडी समयमै नपुगेका कारण लोडिङमा ढिलाइ भएको चन्दले बताए।

उनका अनुसार ग्यास आयातमा देखिएको समस्या करिब २०–२५ दिनदेखि भए पनि बजारमा प्रत्यक्ष प्रभाव पछिल्लो एक–डेढ हप्तादेखि मात्रै देखिन थालेको हो। अहिले उपलब्ध गाडी प्रयोग गरी आपूर्ति सुधार गर्ने प्रयास तीव्र पारिएको र क्रमशः आपूर्ति सामान्य अवस्थामा फर्किने देखिएको छ। निगम स्रोतले भने, “यो समस्या धेरै दिन लम्बिँदैन, अब एक–डेढ हप्ताभित्र आपूर्ति क्रमशः सामान्य हुने अपेक्षा छ।”


सम्बन्धित समाचार
भर्खरै