१७ माघ, काठमाडौं ।अर्को महिना थाइल्याण्डमा आयोजना हुन लागेको एसीसी एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीको कप्तानी पूजा महतोले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले पूजाको कप्तानीमा टोली घोषणा गरेको छ।
नियमित कप्तान इन्दु बर्मा चोटका कारण मैदान बाहिर रहेपछि पूजाले कप्तानको जिम्मेवारी सम्हालेकी हुन्। गत हप्ता भएको आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत स्कटल्याण्डसँगको खेलमा इन्दु घाइते भएकी थिइन्। पूजाले राष्ट्रिय टोलीमा उप–कप्तानको भूमिका नियमित रूपमा निभाउँदै आएकी छिन्।
नेपालले प्रतियोगितामा फागुन १ देखि १० गते (फेब्रुअरी १३–२२) सम्म प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा ८ टोली सहभागी छन्। समूह ‘ए’ मा नेपाल, भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई रहेका छन् भने समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, थाइल्याण्ड र मलेसिया छन्। राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपालले प्रतियोगिताको पहिलो खेल फागुन १ गते पाकिस्तान ‘ए’ सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि फागुन ३ गते युएई र ५ गते भारत ‘ए’ सँग खेल्ने कार्यक्रम तय गरिएको छ।
















