१७ माघ,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्नेतिर आफ्नो ध्यान नभएको बताएका छन्।
सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले प्रधानमन्त्री फेरि हुने–नहुने प्रश्न गर्दा प्रचण्डले भने, “त्यतातिर मेरो ध्यान छैन।”
पछिल्लो समय भावी प्रधानमन्त्रीका उम्मेदवारको रूपमा अघि आएका व्यक्तिमध्येबाट कोही नबन्ने दाबी उनले गर्दै आएका छन्। नेकपा एमालेले अध्यक्ष केपी ओली, कांग्रेसले सभापति गगन थापा र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई आफ्नो उम्मेदवार बनाएको छ।
प्रचण्डले पार्टी एकता नै प्राथमिकता रहेको स्पष्ट गर्दै भने, “सबै पार्टी एकै ठाउँमा नआउँदासम्म हाम्रो पार्टी एकता जारी रहन्छ। विचार मिल्ने जति सबै पार्टीसँग हामी एकता गर्छौँ। राष्ट्रलाई एक बनाएर छोड्छु।”
















