Logo

१७ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई ‘देश जलाउने कि बनाउने’ भन्ने प्रतिस्पर्धाको रुपमा व्याख्या गरेका छन्। शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूलाई ‘देश बनाउने’ पक्षमा उभ्याए।

ओलीले भने, “तपाईंहरुले देशलाई विजयी बनाउनु हुनेछ। १६५ मध्ये एउटा ठाउँमा पनि देश हार्न हुँदैन।” उनले चुनावमा आफ्नो प्रतिद्वन्द्वीबारे इङ्गित गर्दै भने, “ठुटे सिङ लिएर सिंगौरी खेल्न जानेहरु छन्।”

प्रतिद्वन्द्वीको नाम नलिएर उनले थपे, “अण्डा दुई प्रकारका हुन्छन् – बतासे र साँच्चैको अण्डा। बतासे अण्डाबाट चल्ला निस्किँदैन। यी बतासका खेती गरिरहेका छन्। यिनीहरुसँग संगठन, उद्देश्य र बिचार छैन। भोलि उठी कहाँ जाने थाहा छैन।”

ओलीले देश बिगार्ने गतिविधि गर्नेहरुमाथि कडा टिप्पणी गर्दै भने, “पुल्ठो झोस्न जान्या छ, आगो बाल्न जान्या छ, देश बिगार्न जान्या छ, भड्काउन जान्या छ, तोडफोड गर्न जान्या छ, लुटपाट गर्न जानेको छ, आगजनी गर्न जान्या छ। यस्ता कुराहरुलाई क्रान्ति भनेर महिमामण्डन गरिएको छ।”

साथै उनले विरोधी दलका गतिविधिलाई ‘जनतासँग नपुगेको, आकाशे खेती’ भन्दै आलोचना गरे। ओलीले भने, “हामी देशका लागि काम गर्छौं, जनताका बीचमा छौं। देशलाई समृद्ध, सुरक्षित र जनतालाई सुखी बनाउँछौं। हामी त्यो गन्तव्यबाट बिचलित हुँदैनौं।”


सम्बन्धित समाचार
भर्खरै