१७ माघ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ अन्तर्गत पर्ने चोर्नी गाउँमा बृहद् घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। ग्रामीण मतदातासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै उम्मेदवार पन्तले देशभर भ्रष्टाचार व्याप्त रहेको र त्यसको प्रत्यक्ष असर ग्रामीण क्षेत्रका नागरिकले भोग्नुपरेको बताए। आधारभूत सेवा–सुविधाबाट समेत वञ्चित हुनुपरेको अवस्थाले जनतामा असन्तोष र विद्रोहको भावना बढ्दै गएको उनको भनाइ थियो। उनले यस्ता समस्याको समाधान पुराना राजनीतिक दलहरूबाट सम्भव नरहेको दाबी गर्दै परिवर्तनको संवाहकका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन मतदातासँग आग्रह गरे।
पन्तले शिक्षा, स्वास्थ्य र रोजगारी आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै ती क्षेत्रको सुधारका लागि रास्वपाका उम्मेदवारहरू विजयी हुनु आवश्यक रहेको बताए। ठूला राजनीतिक दलहरूको गलत नीति र कार्यशैलीकै कारण समाजमा विभेद, अन्याय र अव्यवस्था बढ्दै गएको उनको आरोप थियो।
चोर्नी गाउँका विभिन्न टोलमा आयोजित भेटघाट कार्यक्रममा उम्मेदवार पन्तले आगामी निर्वाचनपछि सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र सबै प्रकारका विभेद समाप्त गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, विगतमा सरकारमा बसेकाहरूले गरेका अनियमितता र बदमासीको छानबिन गरी दोषीमाथि कारबाही गर्न आफू निर्वाचित हुनु आवश्यक रहेको पनि उनले बताए।
घरदैलो कार्यक्रममा स्थानीय मतदाताले आफ्ना समस्या, गुनासा र अपेक्षाहरू उम्मेदवारसमक्ष राखेका थिए। त्यसको जवाफमा पन्तले ती विषयहरू संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।
















