१७ माघ,वीरगञ्ज । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले रसुवासँग आफ्नो गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा रसुवाबाट पार्टीका उम्मेदवारलाई जिताउनु न्यायसंगत हुने बताएका छन्।
शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले रामेछाप र रसुवा आफ्नो जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका जिल्ला भएको बताए। उनले रामेछापलाई जन्मथलो र रसुवालाई कर्मथलोको रूपमा व्याख्या गर्दै आफू आज जहाँ पुगेको छ, त्यसको आधार रसुवाले नै तयार पारेको उल्लेख गरे।
घिसिङले भने, “रसुवासँग मेरो धेरै कुरा जोडिएको छ। कुलमान घिसिङको पार्टी उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई रसुवामा जिताउनु भएन भने त्यो न्याय हुँदैन। रामेछाप मेरो जन्मथलो हो भने रसुवा मेरो कर्मथलो हो।”
उनले रसुवाका धेरै जनप्रतिनिधिहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकोप्रति खुशी व्यक्त गर्दै पार्टीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरे। रसुवा जिल्ला आफूलाई लामो समयदेखि आत्मीय रूपमा जोडिएको जिल्ला भएको पनि उनले बताए।
कार्यक्रममा अध्यक्ष घिसिङले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुखको रूपमा चार वर्ष काम गर्दा थुप्रै उपलब्धि हासिल भएको स्मरण गरे। सो अवधिमा विभिन्न जलविद्युत् परियोजनाको सुरुवात र सम्पन्न गरिएको उल्लेख गर्दै स्थानीय जनतालाई १० प्रतिशत सेयर दिने व्यवस्था नेपालमै पहिलो पटक कानुनी रूपमा सुनिश्चित गरिएको दाबी गरे।
उनले भने, “रसुवाको चिलिमे जलविद्युत् आयोजनामा काम गर्ने क्रममा धेरै हाइड्रोपावर परियोजना अघि बढाइयो। त्यहाँका जनतालाई १० प्रतिशत सेयर दिनुपर्ने व्यवस्था नेपालमै पहिलो पटक कानुनमार्फत सुनिश्चित गरिएको हो।”
















