Logo

१७ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रही आफ्नो पवित्र उद्देश्यअनुसार निष्पक्ष रूपमा कार्यसम्पादन गर्नुपर्ने बताएका छन्।

आज गृह मन्त्रालयमा नेपाल रेडक्रस सोसाइटीका विषयमा भएको छलफलमा गृहमन्त्री अर्यालले रेडक्रसको केन्द्रीय तहमा वर्षौंदेखि देखिँदै आएका संस्थागत समस्याहरूलाई कानुन, विधि र प्रक्रियाअनुसार समाधान गर्ने गरी काम गर्न निर्देशन दिए।

उनले तदर्थ समितिलाई तोकिएको जिम्मेवारी समयमै पूरा गर्न, आवश्यक तयारीसहित निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न, संस्थाको विधानलाई संघीय संरचनाअनुसार संशोधन गर्न तथा संस्थालाई राजनीतिबाट मुक्त राखेर निष्पक्ष कार्यसम्पादन गर्न आग्रह गरे।

गृहमन्त्री अर्यालले रेडक्रस आफ्नो मानवीय र पवित्र उद्देश्यबाट विचलित नहुनुपर्नेमा जोड दिँदै गृह मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरेर सरकारको सहयोगीका रूपमा काम गर्न पनि आग्रह गरे।

छलफलमा गृह सचिव राजकुमार श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्याल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा दुवै मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

त्यसैगरी, नेपाल रेडक्रस सोसाइटीका तर्फबाट तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्मा, महासचिव मीनबहादुर मल्ललगायत प्रतिनिधिहरू सहभागी थिए।


सम्बन्धित समाचार
भर्खरै