१७ माघ,काठमाडौं । शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव तथा गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको स्मृतिमा पुरस्कार स्थापना गर्ने भएको छ।
पण्डितको दोस्रो पुण्यतिथिका अवसरमा आज आयोजित श्रद्धाञ्जलीसभामा समूहकी अध्यक्ष निर्जला कक्षपतिले पण्डितको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले पुरस्कार स्थापना गर्ने घोषणा गरिन्।
कार्यक्रममा समूहका पूर्वअध्यक्ष प्रकाश सिलवालले शेषकान्त पण्डितलाई एक व्यावसायिक, इमानदार र चिन्तनशील पत्रकारका रूपमा स्मरण गरे।
शेषकान्त पण्डितको २०८० माघ १७ गते अर्बुद रोगका कारण ४७ वर्षको उमेरमा निधन भएको थियो। तनहुँको भानु नगरपालिका–१२मा २०३३ साल वैशाख १८ गते जन्मिएका पण्डित पत्रकारितासँगै शिक्षण र लेखन क्षेत्रमा पनि सक्रिय थिए।
















