१८ माघ, वीरगञ्ज । समाजका असहाय र विपन्न वर्गप्रति निरन्तर सहानुभूति र सेवा गर्दै आएको सामाजिक संस्था उपकार सेवा नेपालले पर्साको ठोरीस्थित वृद्धाश्रमलाई खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा लत्ताकपडा सहयोग गरेको छ ।
ठोरी गाउँपालिका वडा नं. १ भगवाननगरमा रहेको उक्त वृद्धाश्रममा आश्रित १७ जना बुवाआमा तथा बालबालिकाको दैनिक जीवनयापनलाई सहज बनाउने उद्देश्यसहित संस्थाले मासिक खाद्यान्न प्रबन्ध गरेको हो । सहयोग अन्तर्गत ९० किलो चामल, १० किलो सोयाबिन, १० किलो चिउरा, १० लिटर खानेतेल, ५ किलो मसुरो दाल र ५ किलो नुन उपलब्ध उपकार सेवा नेपालले गराएको छ।
खाद्यान्नसँगै सरसफाइका सामग्री साबुन, जाडो मौसमलाई लक्षित गरी ट्राउजर र टिसर्ट, साथै फलफूल र मिठाईसमेत प्रदान गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले बताए । सहयोग सामग्री एक विशेष कार्यक्रमका बीच उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी अभिभावक पद्मा देवी सरावगी र सामाजिक अभियन्ता थारुले संयुक्त रूपमा आश्रमका सदस्य रामबहादुर थिङलाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष सरावगीले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै संस्थाले आश्रमलाई हरेक महिना आवश्यक सामग्री सहयोग गर्दै आएको बताइन् । “हाम्रो सानो प्रयासले आश्रममा आश्रित बुवाआमा र बालबालिकाको दैनिकीमा केही सहजता थपियोस् भन्ने चाहना हो,” उनले भनिन् ।
आश्रमका प्रतिनिधि रामबहादुर थिङले उपकार सेवा नेपालको नियमित सहयोगले आश्रम सञ्चालनमा ठूलो राहत पुगेको भन्दै संस्थाप्रति आभार व्यक्त गरे । उनका अनुसार मासिक रूपमा प्राप्त हुने यस्ता सहयोगले खाद्यान्न अभावको चिन्ता कम भएको छ ।
उपकार सेवा नेपालले लामो समयदेखि पर्सा जिल्लाका विभिन्न स्थानमा वृद्ध, असहाय, विपन्न तथा संकटमा परेका समुदायलाई लक्षित गर्दै यस्ता मानवीय तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाको निरन्तर सेवाभावले स्थानीयस्तरमा मानवता र सहकार्यको सकारात्मक सन्देश फैलाइरहेको छ ।
















