Logo

१८ माघ, वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार सिए अजय चौरसियाले आफ्नो चुनावी शैलीलाई अलि फरक र जनमुखी बनाएका छन् । औपचारिक मञ्च र  प्रचारप्रसारका गीत गुञ्जाउने भन्दा पनि जनताको दैलोमा पुगेर प्रत्यक्ष संवाद गर्ने रणनीति अन्तर्गत चौरसिया आज बिहान वीरगञ्ज महानगरपालिका-३० स्थित लालपर्सा पुगेका छन् ।

लालपर्साको एक स्थानीय चिया पसलमा चियाको चुस्कीसँगै चौरसियाले स्थानीय मतदातासँग राजनीतिक छलफल र जनसंवाद गरेका हुन् । कुनै ठूलो भाषणबाजी बिना नै सामान्य नागरिक झैँ प्रस्तुत भएका उनले स्थानीयका गुनासा, आवश्यकता र समाधानका उपायबारे गहन छलफल गरे ।

“हामीलाई भाषण होइन, हाम्रा समस्या सुन्ने र समाधान गर्ने प्रतिनिधि चाहिएको छ,” स्थानीय एक वृद्धले भने, “यसरी चिया खाँदै आफ्ना कुरा राख्न पाउँदा उम्मेदवार र हामीबीचको दूरी मेटिएको महसुस भएको छ ।”

भेटघाटका क्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र सार्वजनिक सेवामा रहेका ढिलासुस्तीका विषयमा आफ्ना समस्याहरू खुलेर राखेका थिए । चौरसियाले जनताका यी सुझावहरूलाई आगामी कार्यदिशाको मुख्य आधार बनाउने प्रतिबद्धता जनाए ।

उनले भने, “जनताको आवाज नै मेरो प्राथमिकता हो । यस्ता प्रत्यक्ष संवादले नीति निर्माणमा मद्दत पुग्छ र जनताको आवश्यकता अनुसारको विकास गर्न सहज हुन्छ ।”

परम्परागत शैलीको सट्टा जनतासँगै बसेर, उनीहरुकै भाषा र परिवेशमा घुलमिल हुने चौरसियाको यो शैलीले मतदातामा सकारात्मक प्रभाव पारेको देखिएको छ । स्थानीयवासीहरूले पनि यस प्रकारको ‘ग्रास रुट’ संवादले जनप्रतिनिधि र नागरिकबीचको विश्वास र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार