१८ माघ, काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा जोडिएको बहुचर्चित राजस्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी दुई वटा भ्रष्टाचार मुद्दामा आइतबार विशेष अदालतमा सुनुवाइ सुरु भएको छ ।
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा यी मुद्दाहरूको पेसी तोकिएको हो । कर फर्छ्यौट आयोग २०७१ मार्फत करदाताहरूलाई १० अर्ब २ करोड रुपैयाँभन्दा बढी बदनियतपूर्वक छुट दिएर राज्यलाई ठूलो नोक्सानी पुर्याएको अभियोगमा शर्मासहित आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल मुख्य प्रतिवादी रहेका छन् ।
राजस्व चुहावटबाहेक शर्मामाथि पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अर्को गम्भीर मुद्दा पनि विचाराधीन छ। सरकारी सेवामा प्रवेश गरेदेखि २०७३ सालसम्मको अवधिमा उनको वैध आयभन्दा ४ करोड ३० लाख रुपैयाँ बढी सम्पत्तिको स्रोत नखुलेको दाबी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । यस मुद्दामा जफत प्रयोजनका लागि उनकी पत्नी कल्पना उप्रेती शर्मालाई समेत प्रतिवादी बनाइएको छ । अख्तियारको अनुसन्धानले आयोगलाई दिइएको अधिकार क्षेत्रभन्दा बाहिर गएर निजी फाइदाका लागि कर मिनाहा गरेको निष्कर्ष निकालेको थियो ।
विशेष अदालतले यसअघि शर्मासहितका प्रतिवादीहरूलाई दोषी ठहर गरिसकेको भए तापनि सर्वोच्च अदालतको आदेशपछि यो मुद्दा पुनः सुनुवाइको चरणमा आइपुगेको हो । सर्वोच्चले गत असारमा विशेष अदालतको अघिल्लो फैसलामा स्वच्छ सुनुवाइको सिद्धान्त पालना नभएको भन्दै त्यसलाई त्रुटिपूर्ण ठहर गरी पुनः सुनुवाइ गर्न निर्देशन दिएको थियो ।
सर्वोच्चको सोही आदेशपछि विशेष अदालतमा आजबाट सुरु भएको यो बहसले नेपालको प्रशासनिक इतिहासकै ठूलो भनिएको राजस्व भ्रष्टाचार काण्डमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।
















