१८ माघ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले निर्वाचन क्षेत्र नम्बर १ का सक्रिय सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पर्साका चारै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारहरूलाई विजयी गराउन सदस्यहरूको भूमिका के कस्तो हुनुपर्छ भन्ने विषयमा गहन छलफल तथा अन्तरक्रिया गरिएको थियो। छलफलका क्रममा विभिन्न तह र तप्काबाट आएका सहभागीहरूले फरक–फरक दृष्टिकोण र सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा उठेका विषयहरूलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले प्राप्त भएका जायज सुझावहरू पार्टीले सकारात्मक रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले फागुन २१ गते नेपाली जनताले वर्षौंदेखि समाजभित्र जरा गाडेको भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद र कृपावादविरुद्ध मतपत्रमार्फत उत्तर दिने दाबी गरे।
सभापति पन्तले कार्यक्रममा देखिएको उल्लेख्य पार्टी सदस्य तथा शुभेच्छुकहरूको उपस्थितिले आफू र पार्टीलाई थप उत्साह प्रदान गरेको उल्लेख गर्दै पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सयौँ रास्वपा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, फैयाद मिया लगायतका नेताहरूको उपस्थिति रहेको कार्यक्रममा सहसचिव कृष्ण पास्वानले सञ्चालन गरेका थिए। कार्यक्रम महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो।















