१८ माघ,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातिरहेको छ। यसैक्रममा पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पटेर्वा सुगौलीमा दलित अगुवा लालबहादुर राम भककगि रामसहित सयौँ व्यक्ति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
नेकपाका पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार छोटेलाल यादवको सक्रियतामा उनीहरू पार्टी प्रवेश गरेको जनाइएको छ। पार्टी प्रवेश कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै उम्मेदवार यादवले नयाँ सोच, युवा शक्ति परिचालन, वैदेशिक पलायन रोक्ने तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ आफू उम्मेदवार बनेको बताए।
यादवले आफू कुनै व्यापारी घरानाबाट नभई गाउँ–घरमै हुर्किएको किसानको छोरा भएको उल्लेख गर्दै स्थानीय जनताका समस्या नजिकबाट देखेको र तिनको समाधानका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। “म तपाईंहरुकै बीचबाट आएको हुँ, त्यसैले तपाईंहरूको दुःख–सुख र समस्यालाई नजिकबाट बुझ्न सक्छु,” उनले भने।
उनले भदौ २३ र २४ को जेएन–जे आन्दोलनपछि देश संकटमा परेको उल्लेख गर्दै उक्त संकट पार गर्ने एक मात्र उपाय लोकतान्त्रिक निर्वाचन नै भएको बताए। अन्य राजनीतिक दलहरूले निर्वाचन नगर्नुपर्ने तर्क गरे पनि आफ्नो पार्टीले निर्वाचनलाई अनिवार्य रूपमा अघि बढाउनुपर्ने अडान लिएको उनले स्पष्ट पारे।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
















