Logo

२० माघ, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार र सिद्धान्तहीन ‘डिजिटल स्टन्ट’ले नेपाली राजनीति र समाजलाई बर्बादीतर्फ धकेलिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । आगामी फागुन २१ को निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरी काठमाडौँ फर्किएका दाहालले एउटा राष्ट्रिय सञ्चारमाध्यमको विशेष अन्तर्वार्तामा नयाँ भनिएका राजनीतिक शक्तिहरूको उदयलाई ‘विश्व साम्राज्यवादको रणनीतिक बाछिटा’को संज्ञा दिएका छन् ।

अन्तर्वार्ताका क्रममा दाहालले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा कमाउने नाममा भइरहेका गतिविधिहरूले जनताको विवेकलाई भ्रमित गरिरहेको टिप्पणी गरे । “बिना विचारधारा र बिना मान्यता सोसल मिडियामा स्टन्ट गरेकै भरमा जनताको दिमाग खराब गर्ने प्रवृत्ति कुनै देशभक्त नेपालीको हुन सक्दैन,” उनले भने । उनले यस्ता प्रवृत्तिलाई नवउदारवादी प्रणालीभित्रका ठूला पुँजीपतिहरूले आफ्नो स्वार्थ पूर्तिका लागि अगाडि सारेका ‘भुइँफुट्टा’ वर्गका रूपमा चित्रण गरे ।

‘जेलेन्स्की’ उत्पादन गर्ने खेल नयाँ शक्तिहरूलाई संकेत गर्दै उनले ती शक्तिहरू वास्तवमा नयाँ नभई विश्व साम्राज्यवादका पुराना एजेन्डा बोकेका पात्रहरू भएको दाबी गरे । “विश्वभर पुँजीवाद संकटमा छ र त्यसले आफ्नो दलाल तयार पार्न पपुलिस्ट (लोकप्रियतावादी) मान्छे खोजिरहेको छ, जसले उसको इशारामा जे पनि गरोस्,” दाहालले थपे । उनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीको उदाहरण दिँदै कमजोर राष्ट्रहरूमा हैकम जमाउन वैदेशिक शक्तिहरूले यस्तै ‘मोडल’ प्रयोग गर्न खोजेको आरोप समेत लगाए ।

आफ्नै आमाबाबु रुवाउनेले देश बनाउँदैनन् परम्परागत दल र नेताहरूको आलोचना भइरहेको सन्दर्भमा प्रचण्डले दशकौँको संघर्ष, त्याग र बलिदानबाट स्थापित मूल्य मान्यतालाई रातारात विध्वंस गर्न खोज्ने तत्वहरूप्रति सचेत रहन आम नेपालीलाई आग्रह गरे। उनले भने, “त्याग र निष्ठाको राजनीतिलाई निस्तेज पारेर पुराना नेता केही होइनन् भन्ने भाष्य बनाइँदैछ । आफ्नै आमाबाबुलाई रुवाउने छोराछोरीले देश बनाउँछन् भन्ने सोच्नु दुर्भाग्यपूर्ण हुन्छ।”

परिवर्तनको पहरेदार हामी नै हौँ प्रचण्डले आफू र आफ्नो पार्टी अझै पनि असली गणतन्त्रवादी, संघीयतावादी र पहिचानवादी भएको दाबी गर्दै युवा पुस्तालाई भ्रमको पछि नलाग्न अपिल गरे । उनले ‘जेनजी’ आन्दोलनका जायज मागलाई आफूले सधैँ सम्मान गर्ने तर परिवर्तनको नाममा अराजकता र इतिहासको बदनामी स्वीकार्य नहुने स्पष्ट पारे ।


सम्बन्धित समाचार