२० माघ, काठमाडौँ । कैलालीको टीकापुरमा मंगलबार बिहान भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । हुलाकी सडकखण्ड अन्तर्गत टीकापुर नगरपालिका-७ को प्रतिपुरमा गुडिरहेको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
टीकापुरबाट निर्माण सामग्री (सरिया) लोड गरी भजनीतर्फ जाँदै गरेको भे १ त ४५५६ नम्बरको ट्याक्टर सडकमा पल्टिँदा ट्रलीमा सवार भजनी नगरपालिका-७, चर्राका २५ वर्षीय कबिर कठरिया गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा मंगलबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँका ३४ वर्षीय पंकज कठरिया पनि घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेकाले टीकापुरमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ ।
दुर्घटना लगत्तै ट्याक्टर चालक २७ वर्षीय सहिराज अली भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार फरार चालकको खोजी कार्य तीव्रताका साथ भइरहेको छ । सरिया लोड गरिएको ट्याक्टर उच्च गतिका कारण वा अन्य प्राविधिक कारणले अनियन्त्रित भएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















