२० माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लाहरूमा प्रतिकूल मौसमका कारण समस्या उत्पन्न भएमा ती क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गराउन सकिने सङ्केत गर्नुभएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिकास्थित हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन समारोहपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकार निर्वाचन सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहेको र मौसम अनुकूल नभएका खण्डमा मात्रै हिमाली भेगका लागि दोस्रो चरणको विकल्प सोच्न सकिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री कार्कीका अनुसार कम मतदाता भएका दुर्गम क्षेत्रहरूमा आवश्यकता परे सवारीसाधनको प्रयोग गरेर मतदाताहरूलाई मतदान केन्द्रसम्म ओसारेरै भए पनि निर्वाचन गराइनेछ। यद्यपि, भौगोलिक विकटता र हिउँदको समयमा आउन सक्ने प्राकृतिक बाधालाई मध्यनजर गर्दै विशेष परिस्थिति सिर्जना भएमा मात्रै निर्वाचनको मितिलाई केही हेरफेर गर्न सकिने उहाँको तर्क थियो । उहाँले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन सरकार तयार रहेको भन्दै सुरक्षा र व्यवस्थापकीय तयारीमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता समेत जनाउनुभयो ।
अहिलेसम्म निर्वाचन सार्ने विषयमा कुनै पनि औपचारिक छलफल वा सोच नबनेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी फागुन २१ गतेकै मितिमा ढुक्क भएर चुनावी तयारीमा होमिन सबैलाई आग्रह गर्नुभयो । समयमै निर्वाचन सम्पन्न गरी नवनिर्वाचित प्रतिनिधिहरूले राज्यको बागडोर सम्हाल्दा मात्रै देशले नयाँ गति लिनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । केही प्राविधिक र प्राकृतिक चुनौतीहरू आइपरे पनि सरकारले तिनको बुद्धिमतापूर्वक समाधान गरी लोकतान्त्रिक अभ्यासलाई सफल पार्ने उहाँको दाबी छ ।
















