Logo

२० माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पचरूखी गाउँपालिका वडा नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले स्थानीयवासीसँग प्रत्यक्ष छलफल गर्दै चुनावी सभालाई सम्बोधन गरेका छन्।

घरदैलो तथा अन्तरक्रिया कार्यक्रममार्फत उम्मेदवार कानुले वडावासीका समस्या, आवश्यकता र अपेक्षाबारे गहिरो संवाद गरेका हुन्। कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सभालाई सम्बोधन गर्दै उम्मेदवार कानुले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा खानेपानीजस्ता आधारभूत विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “स्थानीयको आवाज संसदसम्म पुर्‍याउनु नै मेरो मुख्य लक्ष्य हो,” उनले भने, “विकासका नाममा हुने बेथिति र भ्रष्टाचारको अन्त्य गर्दै पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्नु आवश्यक छ।”

अन्तरक्रियाका क्रममा स्थानीय सहभागीहरूले कृषि उत्पादनको उचित मूल्य, युवाका लागि रोजगारीका अवसर, गुणस्तरीय स्वास्थ्य सेवा तथा सुरक्षित सडक पूर्वाधारको माग राखेका थिए। ती सुझावहरूलाई आत्मसात् गर्दै उम्मेदवार कानुले जनताको प्रत्यक्ष सहभागितामा आधारित नीति निर्माण र प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले परिवर्तनका लागि नयाँ सोच र स्वच्छ राजनीतिलाई समर्थन गर्दै उम्मेदवार सुशील कुमार कानुलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


सम्बन्धित समाचार