२१ माघ, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय एकीकृत रूपमा परिचालित भएका छन् । निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा सरकारले सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा सक्रिय बनाएको हो ।
सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना-२०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ । सोही योजनाअनुसार आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा मैदानमा उत्रिएका हुन् ।
एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलमा तीन तहको सुरक्षा घेरा बनाइनेछ। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ले सम्हाल्नेछन् । दोस्रो तहको जिम्मेवारी सशस्त्र प्रहरी बलको हुनेछ भने तेस्रो तथा बाहिरी सुरक्षा घेरामा नेपाली सेना रहनेछ।
नेपाली सेनाले आजैदेखि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि सेनालाई परिचालन गर्न स्वीकृति दिएका थिए ।
सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार आवश्यकताअनुसार विभिन्न स्थानमा सेनाको ‘बेस’ स्थापना गरिनेछ भने जोखिमका आधारमा संयुक्त गस्ती पनि सञ्चालन हुनेछ । निर्वाचनका लागि करिब ८० हजार सैनिक जनशक्ति परिचालन गर्ने तयारी गरिएको उनले बताए ।
एकीकृत सुरक्षा योजनाअनुसार सेनाले निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछिको गरी तीन चरणमा सुरक्षा जिम्मेवारी निर्वाह गर्नेछ। मतपत्र छपाइ र ढुवानीदेखि मतदानस्थल, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षासम्म सेनाको भूमिका रहनेछ। साथै विमानस्थल, कारागार र अन्य संवेदनशील संरचनाको सुरक्षा पनि सेनाले सम्हाल्नेछ ।
यसपटकको निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य मतदाता रहेका छन्। देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् ।
सुरक्षा जोखिमका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको छ। दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० मतदानस्थल अति संवेदनशील सूचीमा राखिएका छन् । सोहीअनुसार सुरक्षा जनशक्ति परिचालन भइसकेको प्रहरीले जनाएको छ ।
निर्वाचन सुरक्षामा नेपाल प्रहरीबाट ७७ हजार जनशक्ति परिचालित हुनेछन् भने जनशक्ति अभाव पूर्ति गर्न एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ। सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ जना र १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जनशक्ति परिचालन हुनेछ।
सशस्त्र प्रहरीले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइएको र कुनै पनि अप्रिय घटनामा १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।
सरकारले व्यापक सुरक्षा व्यवस्था गर्दै नागरिकलाई ढुक्क भएर मतदानमा सहभागी हुने वातावरण बनाउने प्रतिबद्धता दोहोर्याएको छ ।
















