Logo

२१ माघ, काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप देशभर निःशुल्क रूपमा लगाइने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत माघ २५ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत हजारौँ किशोरीलाई खोपको पहुँचमा ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई लक्षित गरिएको छ। किशोरावस्थामै खोप उपलब्ध गराएर भविष्यमा पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

यसका साथै गत वर्षको एचपीभी खोप अभियानमा कुनै कारणवश छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने व्यवस्था गरिएको छ। यसले अघिल्लो अभियानबाट छुटेका लक्षित समूहलाई समेट्ने विश्वास गरिएको छ ।

खोप कार्यक्रम स्थानीय तहअनुसार फरक-फरक स्थानमा सञ्चालन हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थाबाट जानकारी लिएर खोप लगाउन केन्द्रले आग्रह गरेको छ। अभिभावक र समुदायको सक्रिय सहभागिताले अभियान सफल हुने अपेक्षा स्वास्थ्य मन्त्रालयले गरेको छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार एचपीभी खोप पाठेघरको मुखको क्यान्सर रोकथाममा अत्यन्त प्रभावकारी मानिन्छ । खोप सुरक्षित, प्रभावकारी र पूर्ण रूपमा निःशुल्क भएकाले कुनै हिचकिचाहट नगरी लक्षित उमेर समूहका किशोरीलाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले यो अभियानलाई महिला स्वास्थ्यमा दीर्घकालीन लगानीका रूपमा लिएको जनाएको छ । अभियान सफल भएमा आगामी वर्षहरूमा पाठेघरको क्यान्सरका कारण हुने मृत्यु र रोगभार उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार