Logo

२१ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका लागि राज्यकोषबाट करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान सार्वजनिक गरेकी छन् ।

राष्ट्रिय सेवा दलको एक विशेष कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्रीले सञ्चारकर्मीहरूसँगको संवादमा निर्वाचनको आर्थिक पक्ष र तयारीबारे विस्तृत जानकारी दिँदै यस्तो आँकडा प्रस्तुत गरेकी हुन् । निर्वाचन खर्चिलो हुनुमा सुरक्षा व्यवस्थापन र आवश्यक भौतिक पूर्वाधारको अभाव पूर्ति मुख्य कारण रहेको उनको भनाइ छ ।

निर्वाचन सर्ने आशंकाहरूलाई ठाडै अस्वीकार गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गतेकै तोकिएको मितिमा मतदान सम्पन्न गराउन सरकार पूर्ण रूपमा क्रियाशील रहेको स्पष्ट पारिन् । ‘चुनाव सार्नुपर्ने कुनै कारण छैन,ू उनले दृढताका साथ भनिन्, ‘भौतिक साधन र स्रोतको अभाव पूरा गर्दागर्दै ३१ देखि ३२ अर्ब खर्च भइरहेको छ, जुन वैदेशिक सहयोग र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको हो।’ उनले यदि यो निर्वाचनको परिस्थिति नआएको भए उक्त ठूलो धनराशि अन्य विकास निर्माणका काममा खर्च हुन सक्ने तर्फ पनि संकेत गरिन् ।

आगामी निर्वाचनलाई लोकतन्त्रको सुदृढीकरणको कडीका रूपमा व्याख्या गर्दै प्रधानमन्त्रीले नयाँ जनप्रतिनिधि चयन भएलगत्तै सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता समेत जनाइन् । भौगोलिक विकटता र हिमाली क्षेत्रको चिसो मौसमले निम्त्याउन सक्ने चुनौतीप्रति सरकार सचेत रहेको बताउँदै उनले आवश्यक परे सवारी साधनको प्रयोग गरेर भए पनि मतदातालाई मतदान केन्द्रसम्म पुर्‍याउने व्यवस्था मिलाइने आश्वासन दिइन् ।

कुनै विशेष कारणले कतै मतदान रोकिएमा दोस्रो चरणमा भए पनि प्रक्रिया टुङ्ग्याएरै छाड्ने र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी नराख्ने उनले दाबी गरिन् ।


सम्बन्धित समाचार