२१ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार बहुमूल्य पहेँलो धातु सुनको मूल्यमा अकल्पनीय वृद्धि देखिएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ एकैदिन प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको बजार मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ, जसले नेपाली बजारमा सुनको भाउमा अहिलेसम्मकै ठूलो दैनिक वृद्धिको रेकर्ड समेत कायम गरेको छ ।
मंगलबार प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैपटक ३ लाखको सीमा नाघेको हो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उत्तरचढाव र आर्थिक सूचकांकहरूमा आएको परिवर्तनको प्रभाव प्रत्यक्ष रूपमा नेपाली बजारमा परेपछि मूल्यले यो ऐतिहासिक मोड लिएको व्यवसायीहरूले बताएका छन् । यसअघि कहिल्यै नदेखिएको यो भारी मूल्य वृद्धिसँगै उपभोक्ताहरूमा भने अन्योल र आश्चर्य छाएको छ ।
सुनसँगै चाँदीको भाउले पनि बुधबार नयाँ कीर्तिमान कायम गरेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा २ सय ६५ रुपैयाँले वृद्धि भई प्रतितोला ५ हजार ६०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । सुन र चाँदी दुवैको मूल्यमा देखिएको यो तीव्र वृद्धिका कारण विवाह र अन्य शुभकार्यका लागि गहना खरिद गर्ने योजनामा रहेका सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् ।















