Logo

२१ माघ, काठमाडौं । बजारमा खाना पकाउने ग्यास (एलपीजी) को अभाव हुन सक्ने भन्दै फैलिएको हल्लालाई नेपाल आयल निगमले पूर्णतः निराधार रहेको स्पष्ट पारेको छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले तथ्याङ्क नै सार्वजनिक गर्दै देशमा ग्यासको आपूर्ति मागको तुलनामा निकै बढी भइरहेको जानकारी दिएका छन् । नेपालमा दैनिक औसत ९० बुलेट अर्थात् करिब १ लाख १४ हजार सिलिन्डर ग्यासको माग हुने गरेकोमा भारतीय आयल कर्पोरेसन ९आईओसी० बाट हाल सो परिमाणभन्दा धेरै बढी ग्यास लोडिङ भइरहेको उनले बताए ।

निगमका अनुसार पछिल्ला केही दिनयता ग्यासको आपूर्तिमा व्यापक वृद्धि गरिएको छ। गत शनिबार ११८ बुलेट, सोमबार ११५ बुलेट र मंगलबार १३२ बुलेट ग्यास लोडिङ भएको छ, जुन दैनिक मागभन्दा ५० हजार सिलिन्डरसम्म बढी हो । लोडिङ भएका यी बुलेटमध्ये केही नेपाल भित्रिसकेका र केही बाटोमा रहेको जानकारी दिँदै कार्यकारी निर्देशक भट्टले आगामी निर्वाचनको अवधिभर पनि आपूर्ति व्यवस्थालाई यसैगरी नियमित र सहज बनाइने प्रतिबद्धता व्यक्त गरे ।

आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेकाले उपभोक्तालाई अनावश्यक रूपमा घरमा सिलिन्डर सञ्चय नगर्न निगमले विशेष अनुरोध गरेको छ । ग्यासको अभाव हुने त्रासका कारण गरिने (होर्डिङ) ले बजारमा कृत्रिम दबाब सिर्जना गर्ने र वास्तविक आवश्यकता भएकाहरूलाई समस्या पर्न सक्नेतर्फ निगमले सचेत गराएको छ । ढुक्क भएर आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गर्दै निगमले बजार अनुगमनलाई समेत तीव्र बनाइएको जनाएको छ ।


सम्बन्धित समाचार