२१ माघ, काठमाडौं । भावी प्रधानमन्त्रीुको उम्मेदवार संस्थागत रूपमै घोषणा गरेर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले फागुन ७ गते जनकपुरबाट आफ्नो चुनावी सभाको भव्य सुरुवात गर्ने भएको छ ।
प्रजातन्त्र दिवसको ऐतिहासिक अवसर पारेर मधेसको केन्द्र जनकपुरबाट सुरु हुने यस अभियानका लागि कांग्रेसले आफ्ना दुई प्रमुख प्रभावशाली नेताहरू—सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई ुमुख्य वक्ताुका रूपमा अघि सारेको छ । निर्वाचन आयोगले तोकेको फागुन ४ देखि १८ गतेसम्मको प्रचार अवधिमा देशका प्रमुख सहरहरूमा आयोजना हुने ठूला आमसभाहरूमा यी दुई नेताले पार्टीको एजेन्डा र भावी सरकारको खाका प्रस्तुत गर्नेछन् ।
यसपटकको निर्वाचन कांग्रेसका लागि विशेष छ, किनकि पार्टी केन्द्रीय कार्यसमितिले पहिलो पटक सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । सहमहामन्त्री डा. डिला संग्रौला पन्तका अनुसार, प्रधानमन्त्रीका उम्मेदवारका रूपमा थापा र निर्वाचन परिचालन समितिको संयोजकका रूपमा उपसभापति शर्माले देशभरका चुनावी सभाहरूमा मुख्य संबोधन गर्नेछन् ।
उपसभापति शर्माले यसपटक आफैँ निर्वाचन नलड्ने घोषणा गर्दै देशभरका उम्मेदवारहरूलाई जिताउन कमाण्डरको भूमिकामा रहने प्रतिबद्धता जनाएका छन् । झापा–१ बाट अघिल्लो पटक निर्वाचित शर्माले यसपालि आफ्नो सम्पूर्ण समय पार्टीको संगठन र प्रचारप्रसारमा खर्चने भएकाले उनी देशभरका सबैजसो ठूला सभामा पुग्ने तालिका बनाइएको छ।
सभापति थापाका लागि भने यसपटकको चुनावी दौडाहा थप चुनौतीपूर्ण र रोचक हुने देखिएको छ । विगतका तीनवटा निर्वाचन काठमाडौँ–४ बाट जितेका थापा यसपटक मधेसको सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएका छन् । नयाँ निर्वाचन क्षेत्र र त्यसमा पनि पुराना सहयात्री तथा रास्वपाका उम्मेदवार डा. अमरेशकुमार सिंहसँगको कडा प्रतिस्पर्धाका बीच थापाले आफ्नो क्षेत्र र देशभरका सभाहरूलाई कसरी सन्तुलन मिलाउँछन् भन्नेमा सबैको चासो छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, देशभरबाट थापाको माग अत्यधिक भए पनि उनको व्यस्तता हेरेर केन्द्रीय कार्यालयले चुनावी तालिकालाई अन्तिम रूप दिइरहेको छ ।
जनकपुरको सभापछि कांग्रेसले सातै प्रदेशका प्रमुख केन्द्रहरूमा ुभावी प्रधानमन्त्रीुको उम्मेदवारीलाई केन्द्रमा राखेर जनमत बटुल्ने रणनीति अख्तियार गरेको छ ।
















