२१ माघ, काठमाडौं । सहरी विकास मन्त्रालयले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४२ जना सहिदका परिवारलाई मासिक पेन्सन उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रालयले ती परिवारलाई राहत स्वरूप प्रतिमहिना २१ हजार ८०० रुपैयाँका दरले रकम उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाएको हो । आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको भए पनि जेलबाट भागेका बाहेकका व्यक्तिहरूलाई मात्र सहिद घोषणा गरी यो सुविधा प्रदान गर्न लागिएको हो, जसमा आन्दोलनका क्रममा ज्यान गुमाएका तीन जना सुरक्षाकर्मी समेत समेटिएका छन् ।
मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार यो पेन्सन सुविधा आगामी १० वर्षका लागि सुनिश्चित गरिएको छ । यस योजना अन्तर्गत वार्षिक १३ महिनाको हिसाबले १० वर्षसम्म कुल ११ करोड ९० लाख २८ हजार रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ । उक्त ठूलो धनराशि व्यवस्थापनका लागि मन्त्रालयले ुपुनर्निर्माण कोषु बाट रकम निकासा गर्ने निर्णय गरेको छ । मन्त्रालयले मानवीय संवेदशीलतालाई ध्यानमा राख्दै पीडित परिवारको आर्थिक सुरक्षाका लागि यो कदम चालिएको स्पष्ट पारेको छ ।
यद्यपि, यो राहत रकम निकासाको विषयलाई लिएर सरकारी निकायबीच नै केही अस्पष्टता देखिएको छ । सहरी विकास मन्त्रालयले रकम निकासा गरेको दाबी गरिरहँदा अर्थ मन्त्रालयले भने यस प्रकारको राहतका लागि कुनै पनि फाइल स्वीकृत नगरेको जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले राहत सम्बन्धी कुनै पनि प्रस्तावमा अर्थको सहमति नरहेको बताएपछि सहरी विकास मन्त्रालयले आफ्नै क्षेत्राधिकारभित्रको कोष प्रयोग गरेर यो निर्णय कार्यान्वयनमा लगेको बुझिएको छ ।
















