Logo

२१ माघ, काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ उपत्यकाबाट एमालेले कम्तीमा १० सिट जित्ने बलियो दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा बोल्दै नेता बस्नेतले उपत्यकाका सबै निर्वाचन क्षेत्रमा एमालेले जित्ने गरी तयारी तीव्र पारेको भए पनि १० सिटमा पार्टीको विजय सुनिश्चित रहेको बताएका हुन् । अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धन र स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणका कारण एमाले दुई सिटमा मात्र सीमित हुनुपरेको यथार्थ स्वीकार्दै उनले यसपटक मतदाताहरू पुनः एमालेकै पक्षमा उभिने निष्कर्षमा पुगेको जिकिर गरे ।

उपत्यकाका मतदाताहरू सचेत, शिक्षित र राजनीतिक रूपमा परिपक्व रहेको उल्लेख गर्दै सचिव बस्नेतले यहाँको जनमत निकै परिवर्तनशील रहेको औँल्याए । सानो घटनाले पनि चुनावी परिणाम बदल्न सक्ने उपत्यकाको प्रवृत्तिको चर्चा गर्दै उनले यसपटक एमालेको पक्षमा सकारात्मक माहोल बनेको बताए । केही घुमन्ते उम्मेदवारहरूले मतदातामाथि भोट किनबेचको आरोप लगाउने गरेकोमा कडा आपत्ति जनाउँदै उनले देशकै सबैभन्दा धेरै बौद्धिक वर्ग बसोबास गर्ने क्षेत्रका नागरिकलाई अपमान नगर्न चेतावनी समेत दिए ।

एमालेले यसपटकको निर्वाचनमा विगतका कमीकमजोरीलाई सुधार्दै नयाँ उर्जाका साथ चुनावी मैदानमा ओर्लिएको सन्देश दिएको छ। उपत्यकामा एमालेको साख फर्काउने चुनौतीका बीच सचिव बस्नेतको यो अभिव्यक्तिले पार्टी कार्यकर्ताहरूमा उत्साह थपेको देखिएको छ । निर्वाचन नजिकिँदै जाँदा एमालेले आफ्ना पुराना किल्लाहरू फिर्ता लिने रणनीति अन्तर्गत घरदैलो र संगठन सुदृढीकरणलाई प्राथमिकता दिएको छ ।


सम्बन्धित समाचार