Logo

२१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन कुनै पनि हालतमा नसर्ने स्पष्ट पार्नुभएको छ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो। कतिपय मानिसहरूले अझै पनि चुनाव हुनेमा आशङ्का व्यक्त गरिरहेको तर्फ सङ्केत गर्दै उहाँले त्यस्ता भ्रममा नपर्न र निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

सम्बोधनका क्रममा संयोजक प्रचण्डले सरकारलाई निर्वाचन दुई चरणमा नगर्न सुझाव समेत दिनुभएको छ। उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि एकै चरणमा सम्पन्न गर्नु उपयुक्त हुने तर्क अघि सार्नुभयो। “यो पटकको निर्वाचन सामान्य अवस्थाको निर्वाचन होइन, यो असाधारण परिस्थितिमा हुन लागेको छ,” प्रचण्डले भन्नुभयो, “त्यसैले यसलाई राष्ट्र र जनताको हितमा हुने गरी सही ढङ्गले सम्पन्न गर्नु हाम्रो मुख्य जिम्मेवारी हो।”

निर्वाचनको परिणामबारे चर्चा गर्दै उहाँले यदि निर्वाचन पूर्ण रूपमा निष्पक्ष र स्वच्छ भयो भने नेकपाले निकै राम्रो नतिजा ल्याउने दाबी गर्नुभयो । निर्वाचनलाई एउटा उत्सवका रूपमा लिँदै यसले देशलाई नयाँ दिशा दिने उहाँको विश्वास थियो। कार्यक्रममा उहाँले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जनताको घरदैलोमा जान र निर्वाचनको वातावरण बनाउन समेत निर्देशन दिनुभयो ।


सम्बन्धित समाचार