Logo

२१ माघ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तलाई भन्सार एरियाका स्थानीयवासीले स्वागत गरेका छन्।

आज रास्वपाले भन्सार एरियामा आयोजना गरेको घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले पन्तलाई भव्य स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा बोल्दै वीरगञ्ज भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष विजय साहले रास्वपाले मात्र देशमा आमूल परिवर्तन ल्याई मुलुकलाई सुशासन र समृद्धिको यात्रातर्फ अघि बढाउन सक्ने विश्वास व्यक्त गरे। उनले आफूहरू सबै निस्वार्थ रूपमा रास्वपालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

घरदैलो कार्यक्रम अघि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं पर्सा–१ का उम्मेदवार हरि पन्तले पुराना राजनीतिक दलका उम्मेदवारहरू मत माग्न आए उनीहरूलाई विगत ३५ वर्षमा के–के गरे र अब जितेपछि के गर्ने योजना छ भन्ने प्रश्न गर्न मतदातालाई आग्रह गरे। उनले फेरि पनि उही पुराना दललाई मतदान गरेर जनआन्दोलनको उपहास नगर्न मतदातासमक्ष अनुरोध गरे।

घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। रास्वपाले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित समाचार