२१ माघ,वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाले दलित तथा विपन्न समुदायका लागि आवास निर्माण योजनामा अनियमितता गरेको आरोप लगाउँदै दलित महिलाहरूले गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
संघीय सरकारबाट प्राप्त १ करोड १० लाख रुपैयाँको लागतमा बिन्दबासिनी गाउँपालिकाले दलित तथा विपन्न समुदायका लागि आवास निर्माण गर्न टेण्डर आह्वान गरी ठेक्का समेत लगाइसकेको छ। तर उक्त योजनाबारे लाभग्राही समुदायलाई कुनै जानकारी नदिई निर्माण प्रक्रिया अघि बढाइएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।
बुधबार वडा नम्बर–२ बहुअर्वाभाठाका दलित महिलाहरूले गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गर्दै सूचनाको हक प्रयोग गरी आवास निर्माण योजनासम्बन्धी जानकारी माग्दै निवेदनसमेत दर्ता गराएका छन्।
निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष साहलाई बुझाइएको निवेदनमा संघीय सरकारबाट प्राप्त अनुदानको कुल बजेट, लाभग्राही छनौटको प्रक्रिया, छनौट गरिएका लाभग्राहीको नामावली, निर्माण हुने भवनको अन्तिम स्वामित्व कसको हुने लगायतका विषयमा लिखित जानकारी उपलब्ध गराउन माग गरिएको छ।
साथै आवास निर्माण प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै उक्त प्रक्रिया तत्काल रोक्न समेत उनीहरूले माग गरेका छन्। दलित महिलाहरूले वास्तविक विपन्न तथा दलित लाभग्राहीको सट्टा नक्कली लाभग्राही समावेश गरिएको आरोपसमेत लगाएका छन्।
यसअघि पनि वडा नम्बर–२ का पूर्व वडाध्यक्ष सन्जय चौहानले सोही आवास निर्माण योजनाका विषयमा सूचनाको हक प्रयोग गर्दै गाउँपालिका कार्यालयमा निवेदन दिएका थिए। तर उक्त निवेदनको हालसम्म कुनै सुनुवाइ नभएको पूर्व वडाध्यक्ष चौहानले बताए।
यस विषयमा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीसँग टेलिफोनमार्फत सम्पर्क गर्न खोज्दा उनले सम्पर्क गर्न चाहेनन्।
















