२१ माघ,ठोरी । साविक सुवर्णपुरका प्रधानपञ्च स्वर्गीय भरतकुमार घिमिरेको स्मृतिमा ठोरी गाउँपालिका–५, सुवर्णपुरस्थित ज्ञानवाटिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ।
पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहनुभएका स्व. घिमिरेको योगदानको कदर गर्दै सोही विद्यालयका पूर्व विद्यार्थी तथा हाल शंकरदेव क्याम्पस, काठमाडौंमा उप–प्राध्यापक पदमा कार्यरत डा. पितृराज अधिकारीले बुधबार ५० हजार रुपैयाँको अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गर्नुभएको हो।
अक्षयकोष स्थापना पश्चात् आवश्यक कार्यविधि निर्माण गरी कोषबाट प्राप्त व्याज रकम विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित शैक्षिक कार्यक्रम सञ्चालनमा खर्च गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर नेवारले जानकारी दिनुभयो।
डा. अधिकारीले स्व. घिमिरेकै अग्रसरतामा माध्यमिक विद्यालय सञ्चालन भई आफूहरूजस्ता विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएको स्मरण गर्दै, घिमिरेकै ज्येष्ठ सुपुत्रीको संरक्षकत्वमा रहने गरी अक्षयकोष स्थापनाका लागि सहयोग गरिएको बताउनुभयो। डा. अधिकारीले वि.सं. २०४९ सालमा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो।
स्व. घिमिरेले वि.सं. २०४३ देखि २०४९ सम्म दुई कार्यकाल र वि.सं. २०६५ देखि २०६८ सम्म एक कार्यकाल गरी कुल तीन कार्यकाल विद्यालय व्यवस्थापन समिति अध्यक्षका रूपमा नेतृत्व गर्नुभएको थियो।
यस्तै, बुधबार नै सो विद्यालयको ऐतिहासिक पहिलो एसएलसी ब्याचका विद्यार्थीहरूले विद्यालयको प्रत्यक्ष अवलोकन गर्दै विद्यालयका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वि.सं. २०४७ सालको पहिलो एसएलसी ब्याचका विद्यार्थीहरूले विद्यालयमा उपस्थित भई विगतका अनुभूति स्मरण गर्दै विद्यालय विकासमा सक्दो सहयोग गर्ने जनाएका हुन्।
उक्त ब्याचका तर्फबाट हाल राष्ट्रिय मानव अधिकार आयोगका उप–सचिव लोकनाथ बास्तोलाले विगतका कठिन र चुनौतीपूर्ण दिनहरूको स्मरण गर्दै आफ्नो ब्याचको तर्फबाट विद्यालय सहयोग अभियानको थालनी गर्ने घोषणा गर्नुभयो। पहिलो वर्षको एसएलसी परीक्षामा सहभागी १३ जनामध्ये १२ जनाको सहभागितामा विद्यालयका लागि सहयोगको सुरुआत गर्न लागिएको जानकारी गराइएको थियो।
कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर नेवार, विव्यस सदस्य विमल खड्का, प्रधानाध्यापक बिर्जु प्रसाद चौधरीलगायतले विद्यालयको ऐतिहासिक पहिलो ब्याचका विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो।
















