Logo

२२ माघ, बारा । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले निर्वाचनको मुखमा संसद् पुनःस्थापनाको चर्चा चलाइनु पराजित मानसिकताको उपज भएको टिप्पणी गरेका छन् । बुधबार बाराको बारागढी गाउँपालिकास्थित खोपवा बजारमा आयोजित निर्वाचन परिचालन कमिटीको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन् ।

अध्यक्ष साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लक्षित गर्दै निर्वाचनमा पराजय निश्चित देखिएपछि जनतामा भ्रम फैलाउन संसद् पुनःस्थापनाको कार्ड फालिएको आरोप लगाए । उनले चुनावको विकल्प नरहेको स्पष्ट पार्दै कसैले पनि लोकतान्त्रिक प्रक्रियाबाट भाग्न नहुनेमा जोड दिए ।

“चुनावको मुखैमा आइपुग्दा पनि संसद् पुनःस्थापनाको भ्रम फैलाउनु पराजित मानसिकता हो । म निर्वाचनमा श्रेष्ठता देखाउन चुनौती दिन्छु,” साहले भने, “एमालेको पराजित मानसिकताकै कारण यस्ता हल्ला फिँजाइएको हो ।”

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई साहले ‘सत्य र असत्य’ बीचको लडाइँको रूपमा व्याख्या गरे । उनले सामाजिक सञ्जालमा स्टन्ट गर्ने र झुटो प्रचार गर्ने ‘फेक’ नेताहरूलाई जनताले बहिष्कार गर्नुपर्ने बताए ।

“अहिले फेक नेता र तिनका एजेन्डाको चर्चा गरिँदै छ, जुन देशका लागि घातक छ । सोसल मिडियामा फेक आइडीबाट झुटो प्रचार गर्नेहरूको दबदबालाई चिर्नु जरुरी छ,” उनले भने ।

कार्यक्रमका क्रममा अध्यक्ष साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहको कडा आलोचना गरे । देशकै धनी र ठुलो महानगरको नेतृत्व गर्दा पनि विकासको कुनै नमुना पेश गर्न नसकेको भन्दै उनले बालेनलाई ‘टेस्टेड असफल फिगर’ को संज्ञा दिए ।

साहले भने, “काठमाडौँ महानगरको मेयर हुँदा सहरको मुहार फेर्न नसक्नेले अहिले प्रधानमन्त्री बन्ने सपना देखेर नक्कली कुरा गर्दै छन् । यस्ता नक्कलीहरूलाई आम जनताले निर्वाचनबाटै बहिष्कार गर्नुपर्छ ।” उनले बालेन लगायतका पात्रहरू नयाँ नभई पहिले नै परीक्षण भएर असफल भइसकेको दाबी समेत गरे ।

प्रशिक्षण कार्यक्रममा आजपाका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार