Logo

२२ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो दलले नेकपा एमालेलाई पछि पार्दै पहिलो स्थान हासिल गर्ने दृढता व्यक्त गर्नुभएको छ ।

पार्टीका केन्द्रीय नेताहरूसँगको विशेष जुम बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले हालको चुनावी माहोल र संगठनको अवस्था हेर्दा एमालेको भन्दा धेरै सिट जित्ने आधार तय भइसकेको दाबी गर्नुभयो । उहाँले यसपटक कुनै पनि दलको बैसाखी नटेकी एक्लै चुनावी मैदानमा उत्रिएर देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने सम्भावना बढेको उल्लेख गर्दै नेता(कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ अघि बढ्न निर्देशन दिनुभएको छ ।

सोही बैठकमा प्रचण्डले एमालेसँग कतिपय निर्वाचन क्षेत्रमा तालमेल हुनसक्ने भनी चलेका चर्चा र हल्लाहरूको पूर्ण रूपमा खण्डन गर्नुभयो । जनताबाट तिरस्कृत र अस्वीकृत भइसकेका तत्वहरूसँग कतै पनि चुनावी गठबन्धन वा तालमेल नगर्ने पार्टीको प्रष्ट नीति रहेको उहाँको भनाइ थियो ।

बैठकमा सहभागी सह–संयोजक माधवकुमार नेपालले पनि प्रचण्डको धारणामा ऐक्यबद्धता जनाउँदै एमालेसँग चुनावी तालमेलको सम्भावनालाई पूर्ण रूपमा खारेज गरिदिनुभयो । पार्टी नेतृत्वको यो स्पष्ट अडान र आक्रामक चुनावी रणनीतिले नेकपाभित्र नयाँ तरङ्ग पैदा गरेको छ ।


सम्बन्धित समाचार