Logo

२२ माघ,वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढवा–बहुवरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार युवा नेता शुशिल साह कानुको घरदैलो कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय मतदाता, युवा तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलोका क्रममा युवाहरूले परिवर्तन, सुशासन, रोजगारी सिर्जना तथा युवामैत्री नेतृत्वको आवश्यकता औंल्याउँदै उम्मेदवार कानुप्रति समर्थन व्यक्त गरेका थिए।

स्थानीय युवाहरूले वर्तमान राजनीतिक अवस्थाप्रति निराशा जनाउँदै नयाँ सोच, पारदर्शिता र उत्तरदायी नेतृत्वको अपेक्षा रहेको बताएका छन्। साथै उनीहरूले शिक्षा, रोजगारी, खेलकुद विकास र युवा सशक्तिकरणलाई प्राथमिकतामा राख्नुपर्ने मागसमेत अघि सारेका थिए।

कार्यक्रममा सहभागी मतदाता तथा समर्थकहरूले उम्मेदवार कानुलाई अग्रिम जितको शुभकामना दिँदै आगामी निर्वाचनमा युवाहरूको बलियो साथ रहने विश्वास व्यक्त गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार शुशिल साह कानुले युवाहरूको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै क्षेत्रको समग्र विकास, रोजगारीका अवसर सिर्जना तथा पारदर्शी शासन प्रणाली स्थापना आफ्नो प्रमुख प्राथमिकता हुने बताए।

निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नं. २ मा युवा सहभागिता बढ्दै गएको र चुनावी माहोल दिनप्रतिदिन तात्दै गएको स्थानीयले बताएका छन्।


सम्बन्धित समाचार