२२ माघ,काठमाडौं । झापा निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ। उक्त क्षेत्रबाट पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार रहेका छन्। रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ।
झापा जिल्लाको कमल गाउँपालिका–२ स्थित रास्वपाको सम्पर्क कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको पार्टी स्रोतले जनाएको छ। तोडफोडका क्रममा कार्यालयको सिसा फुटेको छ भने अन्य भौतिक क्षति नभएको बताइएको छ।
तोडफोड कसले र किन गरेको हो भन्ने विषयमा हालसम्म स्पष्ट हुन सकेको छैन। घटनाबारे पार्टीले प्रहरीलाई जानकारी गराइसकेको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र तोडफोडमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।
















