Logo

२२ माघ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लागेको गोली चलाउन आदेश दिएको भन्ने आरोपको कडा शब्दमा खण्डन गर्दै यस्तो भ्रम फैलाउनेहरूलाई अपराधीको संज्ञा दिनुभएको छ ।

बिहीबार काठमाडौँ(झापा सम्पर्क समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरी आफूलाई बद्नाम गर्न खोजेको दाबी गर्नुभयो । गत भदौ २३ र २४ गतेको घटनालाई उपद्रवको संज्ञा दिँदै उहाँले केही तत्वहरूले लुटपाट मच्चाउने र आगो लगाउने जस्ता हिंसात्मक गतिविधि गरेर उल्टै सरकार र आफूविरुद्ध षड्यन्त्रका पोकाहरू खोलेको आरोप लगाउनुभयो । जेनजीका नाममा विध्वंश मच्चाउनेहरूले नै हत्या र आगजनीको परिस्थिति सिर्जना गरेको उल्लेख गर्दै उहाँले वास्तविकता नबुझी लाञ्छना लगाउने काम भइरहेकोमा आक्रोश व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीले गोली चलाउने आदेश दिने भन्ने कुरा प्राविधिक र व्यावहारिक रूपमा पनि असम्भव रहेको प्रष्टीकरण दिनुभएको छ । फिल्डमा खटिएका सुरक्षाकर्मीहरूले तत्कालीन परिस्थितिको आँकलन गरी पूर्वस्वीकृत आदेश र अधिकारकै आधारमा कदम चाल्ने बताउँदै उहाँले प्रधानमन्त्रीलाई यस्ता कुराको पूर्वजानकारी समेत नहुने जिकिर गर्नुभयो ।

आफूलाई बा भनेर सम्मान गर्नेहरूको लोकप्रियता देखेर ईर्ष्या गर्नेहरूले मान्छे मार्ने परिस्थिति बनाएर उल्टै केपी ओलीलाई हत्यारा भन्नु घृणित मानसिकताको उपज भएको उहाँको भनाइ थियो । सत्यलाई बंग्याएर झुटा प्रचार गर्नेहरूको प्रतिवाद गर्न र आम नागरिकलाई यथार्थ बुझाउन उहाँले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभएको छ ।


सम्बन्धित समाचार