Logo

२२ माघ, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउनुभएको छ ।

बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भएको झण्डै दुई घण्टा लामो भेटवार्ताका क्रममा अध्यक्ष ओलीले मुलुकमा विद्यमान सुरक्षा चुनौतीलाई औंल्याउँदै निर्वाचन भयरहित र स्वतन्त्र हुनेमा शंका व्यक्त गर्नुभयो । एमाले नेता विष्णु रिमालसहित बालुवाटार पुग्नुभएका ओलीले वर्तमान सरकारको कार्यशैली र निर्वाचनको तयारीका सन्दर्भमा चासो राख्दै सुरक्षा व्यवस्था कडा बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सुरक्षित बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको र बुधबारदेखि नै ८० हजार सेना परिचालन भइसकेकाले सुरक्षामा कुनै कमजोरी नहुने भन्दै अध्यक्ष ओलीलाई आश्वस्त पार्नुभयो । सो अवसरमा ओलीले केही समयअघि प्रधानमन्त्रीबाट आएको निर्वाचन सर्न सक्ने भन्ने अभिव्यक्तिप्रति पनि चासो राख्नुभएको थियो ।

प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाहरूमा हुने सम्भावित हिमपातको प्राविधिक कठिनाइलाई लिएर मात्र त्यस्तो धारणा आएको भन्दै निर्वाचन सार्ने कुनै मनसाय नरहेको प्रष्ट पार्नुभयो । मतदाता, उम्मेदवार र कर्मचारीको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाउँदै उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सबै दलको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार