Logo

२२ माघ,सेढवा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। चुनावी चहलपहलसँगै जिल्लामा भारतीय कुखुराको अवैध आयातसमेत उल्लेख्य रूपमा बढेको पाइएको छ।

स्थानीय स्रोतका अनुसार निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलले घरदैलो अभियान, चुनावी सभा, कार्यकर्ता भेटघाट तथा मतदातालाई आकर्षित गर्ने उद्देश्यले भोज–भत्तेर र खाजा–नास्ताको व्यवस्था गर्न थालेपछि दैनिक रूपमा दशौँ क्विन्टल भारतीय कुखुरा पर्सामा भित्रिने गरेको छ।

सीमावर्ती क्षेत्र विजय बस्ती, सुवर्णपुर, महादेवपट्टी, पिडारीगुठी–पाडेंपुर, जानकीटोला–दसौता, मिर्जापुर तथा चरगाँहा–भिस्वा नाका हुँदै भारतीय कुखुरा अवैध रूपमा नेपाल भित्र्याइने गरिएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार समिक्षा, मैनाटाड, इनरवा, भंगाहा र धुमाटाडलगायत भारतीय बजारबाट तस्कर समूह तथा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूले मोटरसाइकलमा कुखुरा लोड गरी नेपाल ल्याउने गरेका छन्।

एक राजनीतिक दलले आयोजना गर्ने एक मात्र चुनावी कार्यक्रममा १ देखि २ क्विन्टलसम्म कुखुराको मासु आवश्यक पर्ने भएकाले भारतीय बजारबाट कुखुरा ल्याउनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ। साथै मूल्य अन्तर पनि अवैध आयात बढ्नुको प्रमुख कारण बनेको देखिन्छ। नेपाली बजारमा जिउँदो कुखुराको मूल्य प्रतिकिलो २४० रुपैयाँ रहेको छ भने भारतीय बजारमा प्रतिकिलो २२० रुपैयाँमा कुखुरा उपलब्ध हुने गरेको छ।

अवैध रूपमा भित्रिने भारतीय कुखुराले स्थानीय कुखुरापालक किसान तथा व्यापारीहरू मारमा परेका छन्। साथै सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कमजोर रहेको भन्दै स्थानीयवासीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


सम्बन्धित समाचार
भर्खरै