२२ माघ,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तात्दै गएको छ। निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो अभियान, प्रचार–प्रसार तथा रणनीतिक तयारीमा सक्रिय देखिएका छन्।
यसैक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले आज पर्सागढी नगरपालिका वडा नम्बर–१ स्थित मनवा बजार क्षेत्रमा आम मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार दासले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्वदेशमै रोजगारी सिर्जना, कृषि हबको विकास, निःशुल्क प्राविधिक शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवाजस्ता विषयलाई आफ्नो प्रमुख प्रतिबद्धताका रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले उम्मेदवार दासका प्रतिबद्धताप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी निर्वाचनमा आँखा छापमा मतदान गरी जित सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन्।
निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा उम्मेदवारहरूको गतिविधि बढ्दै गएको र चुनावी माहोल थप उत्साहित बन्दै गएको स्थानीयले बताएका छन्।
















